प्रदेश ७ बाट ५५ हजार बिद्यार्थी एसईईमा सहभागी हुँदै



विमल विष्ट, डोटी ।
बिहीबारबाट सुरु हुने विद्यालय शिक्षा परीक्षा (एसईई) मा प्रदेश ७ बाट ५५ हजार ३०३ जना विद्यार्थीहरु सहभागी हुने भएका छन । साधारण विद्यालयका ५० हजार २२१ र प्राबिधिक विद्यालयका ९९६ गरी कुल ५१ हजार २०७ जना विद्यार्थी नियमिततर्फ एसईईमा सहभागी हुँदैछन् ।
यस्तै एक्ज्याम्टेडतर्फ चार हजार ८६ विद्यार्थी सहभागी हुने भएका छन । एक हजार ४९ विद्यालयमा अध्ययनरत विद्यार्थीले यस वर्षको एसईईमा सहभागिता जनाउने छन् । प्रदेश ७ का नौ वटै जिल्लाहरुमध्ये बाट सबैभन्दा बढी १६ हजार ९६२ विद्यार्थी कैलाली जिल्लाबाट सहभागी हुनेछन् ।

सो जिल्लाका ५३ परिक्षा केन्द्रमा सञ्चालन हुने परीक्षामा साधारण शिक्षाका १६ हजार ९२, प्राबिधिकका एक सय ७० र एक्ज्याम्टेडतर्फ सात सय विद्यार्थी सहभागि हुने क्षेत्रीय शिक्षा निर्देशनालय दिपायल राजपुरका शाखा अधिकृत पूर्णबहादुर शाहले जानकारी दिनु भयो ।
त्यस्तै सबैभन्दा कम विद्यार्थी बाजुराबाट सहभागी हुने छन् । १५ केन्द्रमा परीक्षा हुने उक्त जिल्लामा नियमिततर्फ साधारण शिक्षा दुई हजार ९०७ र प्राबिधिक शिक्षा ४८ गरी दुई हजार ९५५ र एक्ज्याम्टेडतर्फ ३३८ गरी तीन हजार २९३ विद्यार्थी सहभागी हुनेछन् ।

बझाङ्गमा नियमिततर्फ साधारण शिक्षामा तीन हजार नौ सय ३३, प्राबिधिकतर्फ ९१ र एक्ज्याम्टेडतर्फ तीन सय १९ गरी जम्मा चार हजार तीन सय ४३ विद्यार्थी सहभागि हुँदैछन । त्यस जिल्लामा १९ परीक्षा केन्द्र रहेका छन । २४ केन्द्रमा परीक्षा सञ्चालन हुने अछाममा नियमिततर्फ साधारण शिक्षाका चार हजार ३ सय नौ, प्राबिधिक शिक्षाका एक सय २४ र एक्ज्याम्टेडतर्फ आठ सय २५ गरी पाँच हजार दुई सय ५८ विद्यार्थी सहभागी हुनेछन् । त्यस्तै डोटीमा साधारण शिक्षाका दुई हजार ५ सय ४२ र प्राबिधिक शिक्षाका ९४ गरी दुई हजार ६ सय ३६ र एक्ज्याम्टेडतर्फ एक सय ५७ विद्यार्थी परीक्षा दिनेछन् ।

यस जिल्लामा १२ परीक्षा केन्द्र छन् । १८ केन्द्रमा परीक्षा सञ्चालन हुने दार्चुलामा नियमिततर्फ साधारण शिक्षाका दुई हजार नौ सय ७६, प्राबिधिक शिक्षाका ६१ र एक्ज्याम्टेडतर्फ तीन हजार चार सय ५२ विद्यार्थी सहभागी हुनेछन् । बैतडीमा साधारण शिक्षाका पाँच हजार तीन सय एक र प्राबिधिक शिक्षाका एक सय ६३ गरी पाँच हजार चार सय ६४ विद्यार्थी नियमित तर्फ सहभागी हुनेछन् भने एक्ज्याम्टेडतर्फ पाँच सय पाँच विद्यार्थी सहभागि हुनेछन् ।

यहाँ १७ परीक्षा केन्द्र रहेका छन् । त्यस्तै १४ परीक्षा केन्द्र रहेको डडेल्धुरामा दुई हजार चार सय ७४ साधारण शिक्षाका, ६८ प्राबिधिक शिक्षाका र एक सय ८७ एक्ज्याम्टेड गरी दुई हजार सात सय २४ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
त्यस्तै कञ्चनपुर जिल्लामा नियमिततर्फ साधारण शिक्षाका नौ हजार ६ सय ८७, प्राबिधिकतर्फ एक सय ७७ र एक्ज्याम्टेडतर्फ ६ सय ४५ गरी १० हजार पाँच सय नौ विद्यार्थीहरु सहभागी हुनेछन् । शाखा अधिकृत शाहका अनुसार जिल्ला शिक्षा कार्यालयमा कर्मचारी अभावका कारण सामुदायिक र संस्थागत विद्यालयको छुट्टाछुट्टै तथ्यांक प्राप्त हुन सकेको छैन ।

सबै जिल्लाबाट फोनमा टिपाएको आधारमा यो तथ्यांक निकालिएको बताउदै शाहले भन्नु भयो ‘यसमा केही विद्यार्थीहरु अनुपस्थित पनि हुन सक्छन्,डाटा केही तलमाथी हुन सक्छ ।’ एसईई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको क्षेत्रीय शिक्षा निर्देशनालय दिपायल,राजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्