क्षयरोग केन्द्र र मध्यपुर नगरपालिका बिच ६ बुँदे सम्झौता



पुष्कर बुढाथोकी, भक्तपुर ।

मध्यपुरथिमि नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्र बिच बिभिन्न ६ वटा बुँदामा सम्झौता भएको छ । नगरपालिकामा भएको सम्झौतामा केन्द्रले कुनै पनि पदमा कर्मचारी करारमा भर्ना गर्दा मध्यपुर थिमि नगरपालिकाकाको स्थानीय बासिन्दालाई ५० प्रतिशत कोटा दिने सहमति भएको हो ।

सम्झौतामा भनिएको छ–“कर्मचारी भर्ना गर्दा प्राबिधिक, अप्राबिधिक, श्रेणी बिहिन कर्मचारीको करार नियुक्ती गर्दा सम्बन्धित विषय (माईक्रोबायोलोजिष्ट, ल्याब टेक्निसियन, टेक्निसियन, ल्याब ब्वाई, पियन, माली, भान्छे, ड्राईभरलगायत) मा योग्यता र क्षमताको आधारमा मध्यपुर थिमि नगरपालिकाको सिफारिसमा स्थानीय बासिन्दालाई नियुक्त गरिनेछ ।”

त्यसैगरि केन्द्रबाट स्थानीयस्तरमा स्वास्थ्य तथा वातावरणीय क्षेत्रमा पर्ने प्रभाव र सोको न्यूनिकरणको लागि पूर्व सजगता र साबधानी अपनाउने सहमति भएको छ । सरकारले उपलब्ध गराएको निःशुल्क उपचार बाहेक शुल्क लाग्ने सेवा र अन्तरंग सेवामा भक्तपुर जिल्लाका बासिन्दाको हकमा २५ प्रतिशत र मध्यपुरथिमिका बासिन्दाको हकमा ७५ प्रतिशत छुट दिने सम्झौता भएकोछ ।

क्षयरोग केन्द्रले हाल भोगचलन गरेको जग्गाको मध्यपुरथिमि नगरपालिकाले आवश्यक व्यबस्थापन गर्ने, अस्पताल व्यबस्थापनमा आवश्यक सहयोग, निर्देशन तथा अनुगमन गर्ने, अस्पताल संचालनमा समन्वय र सहकार्य गर्ने सहमति भएको छ । मध्यपुरथिमि नगरपालिकाको प्रमुख मदनसुन्दर श्रेष्ठ र राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले हस्ताक्षर गरि सम्झौता पत्र आदान प्रदान गरिएको छ ।

प्रतिनिधीसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ, राष्ट्रिय क्षयरोग केन्द्रका चार प्रतिनिधीहरु, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, कानून अधिकृृत केशव सिलवाल सहितको रोहबरमा सम्झौता भएकोे नगरपालिकाका प्रमुुुुुुुुुुुुुुुुुुुख श्रेष्ठले जानकारी दिनुभयो ।

सम्झौताले नगरपालिका र केन्द्रको सम्बन्ध थप मजबूत हुनुको साथै नगरपालिका र स्थानीय बासिन्दालाई अस्पतालप्रति अपनत्व हुने केन्द्रका निर्देशक डा. श्रेष्ठले बताउनुभयो ।

मापदण्ड विपरित ३०० शैयाको छाती रोग विशेषज्ञ अस्पताल निर्माण सुरु गरेको केन्द्र नक्सापासको प्रक्रियामा आएको जानकारी दिदै नगर प्रमुख श्रेष्ठले जरिवाना र कर लगाएर नगरपालिकाले गरेको शिलबन्दी खोल्न पत्र दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्