३ नम्बर प्रदेशको राजधानी सार्न असम्भवः अध्यक्ष प्रचण्ड



हेटौंडा,(नेस) ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट नसर्ने बताउनुभएको छ । प्रेस सेन्टर मकवानपुरले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा उहाँले हेटौंडाबाट प्रदेश स्थायी राजधानी अन्यत्र सार्ने कुरा नरहेको बताउनुभएको हो ।

प्रदेशको राजधानी सर्छ भनेर प्रचारबाजी गर्नु गलत कुरा रहेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो–यसको औपचारिक निर्णय प्रदेशसभाले गर्नेछ । आफ्नो चाहना प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त रहेको उहाँले स्पष्ट पार्नुभयो ।

नेकपा एमाले र माओबादी केन्द्रबीच पार्टी एकताको कुरा सहजढंगले अगाडि बढेको उहाँले बताउनुभयो । पार्टी स्थापना दिवस २२ अप्रिलमा पार्टी एकता गर्न दुवै पार्टीको कार्यदलले सुझाव दिए पनि दुई पार्टीका अध्यक्षले अझ चाँडै गरौं भन्ने सल्लाह गरेको उहाँको भनाइ छ ।

हाल सरकारका काममा जनताले परिणाम खोजेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो–जनताले काम एक्सनमा हेर्न चाहेका छन् । अहिले जनताको विश्वासबाट हामीहरु यहाँसम्म आइपुगेकाले जनविश्वासका आधारमा काम गरेर देखाउने बेला आएको छ ।

आफूहरु प्रदेश सरकारलाई गतिशील बनाउनेतर्फ लाग्ने बताउँदै उहाँले भन्नुभयो–ऐन कानुन अभावमा काम गर्न समस्या भएकाले अब प्रदेश सरकारलाई काम गर्न सहज हुने गरी ऐन कानुन तयार गर्न सहज वातावरण तयार पारिदिने छौ ।

सरकारलाई मधेशबादी दलहरुले समेत विश्वासको मत दिएकाले काम गर्न थप सजिलो भएको उहाँको भनाइ छ । सरकार गठन भएलगत्तै काम उत्तिकै सुरु भएको बताउँदै उहाँले राष्ट्रियस्तरका मुद्धामा प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सहयोग गर्ने वचन दिएकाले काम गर्न थप सजिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्