पत्रकारको आवरणमा बालिका बलात्कृत



सुरेश तामाङ, ललितपुर
दक्षिण ललितपुरमा ६ वर्षीया बालिका सोमबार बलात्कृत भएको घटना सेलाउन नपाउँदै ललितपुरमै अर्की ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्। गोदावरी नगरपालिका–१४ की बालिका मंगलबार दिउँसो ‘अन्डरलाइन वीक्ली’मा कार्यरत पत्रकार दीपेश साह चक्रवर्तीबाट बलात्कृत भएकी हुन्।

पीडित बालिकाले आमालाई घटनाबारे बताएलगत्तै साहलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सातदोबाटोमा ल्याइएको वृत्तका डीएसपी विनोद सिलवालले जानकारी दिनुभयो।

‘पीडित परिवारको किटानी जाहेरीका आधारमा साह पक्राउ परेका हुन्, उनी अहिले थुनामा छन्, भोलि बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।’ –डीएसपी सिलवालले नेपाल समाचारपत्रसँग भन्नुभयो।

साहको साथबाट सूचना विभाग र निर्वाचन आयोगबाट दिइएको अन्डरलाइन विइक्लीको परिचयपत्र फेला परेको उहाँले बताउनुभयो। प्रहरीका अनुसार थापाथली अस्पताल लगी पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। बालिकाको अवस्था सामान्य रहेको छ।

यसैबीच स्थानीय कृष्णबहादुर बोम्जनद्वारा सोमबार बलात्कृत ६ वर्षीया बालिका मंगलबार महानगरीय प्रहरी वृत्त, चापागाउँमा देखिइन्। एकोहोरो टोलाई रहेकी उनी बेला बेला झसंग भइरहेकी थिइन्। बुवा, बाजे र परिवारका अन्य सदस्यसँग आफूमाथि यौन दुराचार भएको भन्दै किटानी जाहेरी दिन वृत्तमा आएकी थिइन्।

निज बोम्जनले ललाई फकाई घर नजिकैको जंगलमा लगी यौन दुराचार गरेका थिए। प्रहरी बृत्तले जिल्ला अदालत ललितपुरबाट मंगलबार जबरजस्ती करणी उद्योगमा ५ दिनको म्याद थपेर उनीमाथि अनुसन्धान गरिरहेको छ। वृत्तका प्रमुख रवीन्द्र रेग्मीले बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो।

बालिकाले प्रहरी र परिवारका सदस्यलाई दिएको बयानअनुसार सोमबार बिहान बालिकाकै घरमा जाँड खाएर निस्केका बोम्जनले पाँचवटा कफी चक्लेट किनेर जंगल लगी ५० रुपियाँ दिन्छु भन्दै बलात्कार गरेका थिए। बोम्जनका ५ वर्षीया छोरीसमेत छिन्। गाउँमा बदमास कहलिएका उनलाई पटकपटक कुखुरा, खसी, बाख्रा, खुवालगायत चोरी गरेको आरोपमा गाउँले रंगेहात पक्राउ गर्ने गरेको स्थानीय बताउँछन्।

प्रतिक्रिया दिनुहोस्