रेशम कानुनी नजरमा अपराधी हुन्ः एआईजी नेपाल



विमल विष्ट, डोटी
रेशम चौधरी अपराधी भएकाले उनलाई अपराधी भन्न कुनै हिचकिचावट नहुने ७ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी माधवकुमार नेपालले बताउनुभएको छ। टिकापुरमा चौधरीलगायतको समूहले नरसंहार गरेकाले उनी कानुनको नजरमा अपराधी भएको उहाँले बताउनुभयो।

चौधरीलगायत घटनामा संलग्नहरूलाई हदैसम्मको सजायको माग गर्दै प्रहरीले अदालतमा मुद्दा दायर गरेको बताउँदै अदालतबाट उनलाई कारबाही हुने अपेक्षा गरिएको उहाँको भनाइ थियो। सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलमा पहिलो पटक सञ्चालन गरिएको फिजियो थेरापी मेसिनको मंगलबार उद्घाटन गर्ने क्रममा एआईजी नेपालले सो कुरा बताउनुभएको हो।

उक्त कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका एआईजी नेपालले भन्नुभयो– ‘अपराध गर्ने अपराधी हो, उसले गरेको अपराधबापतको सजाय पाउनैपर्छ, त्यो जोसुकै होस।’ प्रहरीले सम्पूर्ण अनुसन्धान गरी कारबाहीको माग दाबी गरेर फाइल अदालतमा पेश गरिसकेकाले रेशम चौधरीलाई अपराधअनुसारको कारबाही हुनेमा आफू ढुक्क रहेको एआईजी नेपालले बताउनुभयो।

अपराध कर्म गर्ने कुनै पनि व्यक्तिले उन्मुक्ती पाउनुहुन्न भन्ने मान्यतामा प्रहरी दृढ रहेको बताउँदै उहाँले थप भन्नुभयो, ‘टिकापुर घटनामा प्रहरीले लामो अनुसन्धान गरेर पेश गरेका प्रमाणको आधारमा अदालतले फैसला गर्छ। हाम्रो प्रमाण बलियो छ भने अपराधीलाई कारबाही हुन्छ। कमजोर रहेछ भने त्यसकै आधारमा अदालतले फैसला गर्ने हो।’ २०७२ साल भदौमा कैलालीको टिकापुरमा भएको घटनामा एसएसपीसहित ७ जना प्रहरी र एक नाबालकको हत्या गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्