रसुवागढी र साञ्जेनमा कति पर्ला शेयर



नेपाल समाचारपत्र
काठमाडौं
चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीद्वारा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित आईपीओ बाँडफाँड हुने क्रममा रहेको छ।

कुल मागभन्दा ६ गुणा बढी सञ्चयकर्ताले शेयर आवेदन गरेका छन्। शेयर आवेदन गर्नेहरूको संख्या कम भएका कारण अधिकतम् अर्थात् ८० हजार बराबरको आवेदन गर्नेलाई बढीमा कित्तादेखि सय कित्तासम्म शेयर पर्ने सम्भावना रहेको छ।

सेन्ट्रल आस्बा प्रणाली अर्थात् सी–आस्बा लागू भएका कारण रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आईपीओ) सम्भवत यसै साता बाँडफाँड गर्ने तयारी छ।

नेपाल धितोपत्र बोर्ड, बिक्री प्रबन्धक र कम्पनीबीच छलफल भइरहेको छ। गत फागुन ११ देखि ३० गतेसम्म सञ्चयकर्तासँग आवेदन माग गरिएकोमा रसुवागढी जलविद्युत् कम्पनीमा ६ अर्ब ६२ करोड ८ लाख रुपियाँ तथा साञ्जेन जलविद्युत् कम्पनीमा ४ अर्ब १७ करोड २२ लाख ५३ रुपियाँ बराबरको आवेदन परेको छ ।

कम्पनीका संस्थापक संस्थाका कर्मचारीका लागि चैत ५ देखि १३ गतेसम्म शेयर आवेदन खुलेको छ । नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका साविक गाउँ विकास समिति र जिल्ला विकास समितिका कर्मचारीलाई २३ करोड ९४ लाख ७३ हजार ५०० रुपियाँ बराबरको २३ लाख ९४ हजार ७३५ कित्ता शेयर बिक्री गर्नेछ ।

आयोजना छिट्टो सम्पन्न गर्न निर्देशन

काठमाडौं, (नेस)
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् चुहावट नियन्त्रण गर्न, लामो समयदेखि रोकिएका आयोजना तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको छ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई सोमबार निर्देशन दिँदै उहाँले दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यको आधार ऊर्जा भएको बताउनुभयो। दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जा क्षेत्रमा सरकारले विशेष कार्ययोजनाका साथ लगानी गर्ने दाबी गर्नुभयो पेट्रोलियम पदार्थ आयातमा वार्षिक एक खर्ब बराबर विदेशिने गरेको भन्दै उहाँले पेट्रोलियम पदार्थ आयात कम गर्न सकियो भने मात्रै पनि व्यापारघाटा कम गर्न सकिने बताउनुभयो।

मन्त्री पुनले कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली ‘ए’, माथिल्लो तामाकोसी जलविद्युत्लगायतका कुनै आयोजना रोकिन नहुने भन्दै राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने प्रणालीको विकास गरिने उल्लेख गर्नुभयो।

आगामी १० वर्षमा कम्तीमा पनि १० हजार मेगावाट विद्युत् उत्पादन गर्नैपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब व्यवस्थित र विद्युत् विस्तार प्रणालीमा जोड दिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो।

शेयरको ‘मोडालिटी’ सच्याउन माग गर्दै आन्दोलन

काठमाडौं, (नेस)
माथिल्लो तामाकोसीको शेयर वितरण ‘मोडालिटी’ सच्याउनुपर्ने माग गर्दै अपर तामाकोसी शेयर सरोकार संयुक्त संघर्ष समितिले सोमबार चरिकोटमा चक्काजाम गरेको छ।

समितिको आह्वानमा माथिल्लो तामाकोसीको शेयर निष्कासन प्रक्रियाबाट असन्तुष्ट भएकाले सातदोबाटो चोकमा एक घण्टा चक्का जाम गरेका हुन्।

संघर्ष समितिले मंगलबार जिल्ला समन्वय समितिको कार्यालयमा धर्ना दिने र चैत १० गतेदेखि माथिल्लो तामाकोसी आयोजना, आयोजनासँग सम्बन्धित ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउने जनाएको छ।

शेयर वितरण गर्दा अतिप्रभावित र प्रभावित गरी दुई तहमा मात्र वर्गीकरण गर्नुपर्ने, विदेशमा रहेका दोलखाबासीलाई सहज रूपमा शेयर हाल्न पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने, रकम जुटाउन नसक्ने दोलखाबासीलाई शेयर प्रमाणपत्र धितो राखेर शेयर हाल्ने व्यवस्था मिलाउनुपर्नेलगायतका माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्