नसर्ने रोगदेखि होसियार



भगवती तिमल्सिना

विश्वमा नै सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढिरहेको अवस्थामा नेपालमा पनि नसर्ने रोगको प्रकोप उच्च रहेको विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालय मातहतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले नसर्ने रोगका बारेमा जारी गरेको एक पुस्तिकामा उल्लेख छ।

नसर्ने रोग यस्ता रोग हुन् जसले लामो अवधि र साधारणतया सुस्त गतिमा प्रभाव पार्ने गर्दछन्। विश्वमा नसर्ने रोगलाई मृत्यु निम्त्याउने रोगहरूमध्ये पहिलो नम्बरमा मानिन्छ, किनकि यसका कारण हरेक वर्ष करिब ३ करोड ६० लाख मानिसको मृत्यु हुने गर्दछ। सामान्यतया नसर्ने रोगहरू मुटुरोग (कोरोनरी मुटुरोग र हृदयाघात), क्यान्सर, दीर्घ श्वासपश्वास रोगहरू (दीर्घ अवरोधात्मक श्वासप्रश्वास रोग र दम) र मधुमेह हुन्। नसर्ने रोगहरू विशेष गरी अस्वस्थकर जीवनशैली वा जोखिमपूर्ण व्यवहारहरू जस्तैः सूर्तिजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपिन, अपर्याप्त शारीरिक सक्रियता र मदिरापानको हानिकारक प्रयोग आदिका कारण लाग्दछ।

यस्ता जोखिमपूर्ण व्यवहारले विभिन्न मेटाबोलिस परिवर्तनहरू जस्तै मोटोपन, उच्च रक्तचाप, रगतमा ग्लुकोजको मात्रा बढ्ने र कोलेस्टेरोलको मात्रा बढ्ने आदि निम्त्याउँदछ। यदि समयमै यस्ता जोखिमपूर्ण व्यवहारलाई नियन्त्रण गरिएन भने, यसले दीर्घ नसर्ने रोग निम्त्याउन सक्दछ।

सबैभन्दा राम्रो कुरा के छ भने जोखिमपूर्ण व्यवहारको रोकथाम र नियन्त्रण गरेमा धेरैजसो नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ। बाल्यावस्था तथा युवावस्थामा स्वस्थ जीवनशैली अपनाएमा पछि वयस्क अवस्थामा गएर नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ। नसर्ने रोगहरू यदि प्रारम्भिक अवस्थामै पत्ता लगाई सोही समयमै यसको व्यवस्थापन गर्न सकेमा यसले भविष्यमा निम्त्याउने जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिने कुरा पुस्तकमा उल्लेख गरिएको छ।

आफ्नो मुटुलाई हानि नपुर्याउनुहोस्

यदि तपार्इंले हरेक दिन ३० मिनेट मध्यम क्रियाकलाप गर्नुभएमा यसले मुटुरोग हुने जोखिमलाई ३० प्रतिशतले कम गर्दछ।

कोरोनरी रक्तनलीको रोग 

कोरोनरी रक्तनलीको रोग भनेको के हो ?
कोरोनरी रक्तनलीको रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकताभन्दा कम मात्रामा रगत प्रवाह हुने गर्दछ। यसलाई इस्चिमिक मुटुरोग पनि भनिन्छ र यो हृदयाघात हुनुको प्रमुख कारण हो।
यो सामान्यतया मुटुको मांसपेशीमा रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरू साँघुरो वा बन्द हुनाले लाग्ने गर्दछ।

यस रोगका लक्षण निम्न प्रकारका छन्ः

प्रायः गरी देब्रेतिर छाती दुख्नु।
कहिलेकाहीं बायाँ पाखुरा, घाँटी र पेटको माथिल्लो भाग दुख्नु।
कोरोनरी रक्तनलीका रोग भएका बिरामीले कुनै किसिमको दुःखाइ महसुस नगर्न सक्छन् तर उनीहरूलाई श्वास फेर्न गाह्रो हुने, वाकवाक लाग्ने र बेहोस हुने गर्दछन्।

प्रायःजसो यस्ता लक्षण बिरामीले बल लगाउने किसिमका काम (जस्तैः हिँडाइ) सकेपछि कम हुने गर्दछ। कहिलेकाहीं आराम गरिरहेको समयमा पनि छाती दुख्न थालेमा या सो दुःखाइ पर्याप्त आराम लिएपछिपनि यथावत् रहेमा, यो हृदयाघातको संकेत हुन सक्छ।

सूर्तिजन्य पदार्थको सेवन, धूमपान, उच्च रक्तचाप, मधुमेह, रगतमा बढी चिल्लोपना, मोटोपना, निस्क्रिय जीवनशैली यो रोगका प्रमुख कारक तत्त्वहरू हुन्।

यो रोग इलेक्ट्रोकारडियोग्राम (ईसीजी) मार्फत् पत्ता लगाउन सकिन्छ। यसबाहेक रक्तनली बन्द भएको पुष्टि गर्न अभ्याससहितको (ईसीजी), कोरोनरी इन्जियोग्राफी र स्क्यानजस्ता अन्य थप जाँचहरू गर्न आवश्यक पर्न सक्दछ।

औषधिको सेवनले कोरोनरी रक्तनलीको रोगका लक्षणहरूका साथै भविष्यमा मुटुलाई हुन सक्ने हानिलाई नियन्त्रयण गर्न सकिन्छ। केही बिरामीहरूको बन्द भएको रक्तनलीलाई सानो बेलुनको प्रयोग वा शल्यक्रिया गरेर खोल्नुपर्ने हुन सक्छ।

पर्याप्त उपचार गर्न र जटिलताको रोकथामका लागि नियमित रेखदेख तथा जाँच गराउन जरुरी हुन्छ। यस्ता खाले समस्या देखिएमा बिरामी स्वयं सचेत हुने या परिवारका सदस्यहरूले समयमै ध्यान दिएर नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउनुका साथै चिकित्सकको सल्लाहअनुसार औषधोपचार गराएर समयमै रोगलाई जटिल हुन रोक्न सकिने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ।

कोरोनरी रक्तनली रोगको रोकथाम र व्यवस्थापन कसरी गर्न सकिन्छ ?

आफ्नो जीवनशैलीलाई कसरी परिवर्तन गर्ने ?

सन्तुलित आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने।
नियमितरूपमा शारीरिक व्यायाम गर्ने।
धूमपान सेवन नगर्ने।
मानसिक तनाब हटाउने।
धेरै बोसोयुक्त खानेकुरा नखाने।
जोखिमपूर्ण कारक तत्त्वहरूको समयभन्दा अगावै मूल्यांकन गर्न चिकित्सकसँग सम्पर्क गर्नुहोस् र यदि केही कारक तत्त्वहरूको विकास भइसकेको छ भने स्वास्थ्यको पूर्ण परीक्षण गराउनुहोस्।
ती जोखिमपूर्ण कारक तत्त्वहरूलाई तपाईंलाई

चिकित्सकले निम्न तरिकाबाट उपचार गर्नेछन्ः

बोसो कम गर्ने औषधिको प्रयोग गरेर रगतमा भएको चिल्लोपन घटाउने।
औषधिको प्रयोग गरेर रक्तचापलाई सामान्य बनाइराख्ने।
डायटिसियनसँग सरसल्लाह गरेर खानपिनसम्बन्धी सुझाव दिने।
नियमितरूपमा हरेकदिन औषधि सेवन गर्नुहोस् अन्यथा ती औषधिले आवश्यकताअनुसार काम नगर्न सक्छन्। यस्ता आवश्यक औषधि सधैं साथमा बोक्ने गर्नुहोस्।
तपाईंले सेवन गरिरहनुभएका औषधिको प्रतिकूल असरबारे र यसबाट बच्ने विभिन्न उपायबारे चिकित्सकसँग जानकारी लिनुहोस्। 

चिकित्सकसँग समय–समयमा स्वास्थ्य जाँच गराउनुहोस् र परामर्श लिनुहोस्।

प्रतिक्रिया दिनुहोस्