धुलोपीडितद्वारा वडा कार्यालयमा ताला



नेपाल समाचारपत्र, हेटौंडा ।
धुलोका कारण जनजीवन निकै कष्टकर भएपछि हेटौंडा–१८ वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । हर्नामाडी–हटिया बाटो निर्माण जनदबाब समूहले कार्यालयको मुख्यगेटमा ताला लगाएको हो ।

धरान–चतरा सडक खण्डअन्तर्गत् उक्त क्षेत्रमा धुलोका कारण जनजीवन कष्टकर भएको र स्थानीयलाई विभिन्न रोग लागेको भन्दै समूहले तालाबन्दी गरेको समूह संयोजक सुन्दर दाहालले बताउनुभयो ।

धुलोले जनजीवन प्रभावित भएको भन्दै माघ १० गते नै समूहले जिल्ला प्रशासन कार्यालयसहित धरान–चतरा सडक कार्यालय र हेटौंडा उपमहानगरपालिकामा ध्यानाकर्षणपत्र दिएको थियो ।

प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले धुलो नियन्त्रण गर्न दिनमा कम्तिमा दुई पटक पानी हाल्ने ब्यवस्था मिलाउने बताउनुभएको थियो । उपमहानगरपालिकाले पनि धुलोबाट परेको असरप्रति चिन्ता ब्यक्त गर्दै पानी हाल्ने प्रतिवद्धता ब्यक्त गरेको थियो ।

सबै निकायले मागको बेवास्ता गरेको भन्दै समूहले तालाबन्द गरेको हो । आफूहरुको माग सुनुवाइ नगरिए पूर्वीक्षेत्र सञ्चालन हुने सवारी बन्द गर्ने चेतावनी समूहले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्