इलाममा एसइई परीक्षाः एकसय ६१ जना परीक्षार्थी अयोग्य ठहर



गणेश घिमिरे, इलाम । यसवर्ष इलाम जिल्लाबाट एकसय ६१ जना बिद्यार्थीहरु एसइई परीक्षा लेख्नबाट बञ्चित भएका छन् ।

परीक्षाका लागि फारम भरेको भएपनि राजस्व नबुझाउने, पढ्दा–पढ्दै बिचैमा पढाई छाडेको र ७५ प्रतिशत हाजिरी नपुगेका एकसय ६१ जना बिद्यार्थी परीक्षा लेख्नबाट बञ्चित बन्ने भएका हुन् । उनीहरुलाई जिल्ला शिक्षा कार्यालय इलामले परीक्षामा अयोग्य बिद्यार्थी ठहर गरेको छ ।

जिल्लामा पाँचहजार २ सय २० जना बिद्यार्थीले एसइइ परीक्षाको लागि फाराम भरेपनि एकसय ६१ जना बिद्यार्थीले परीक्षा नलेख्ने भएपछि इलाममा यो बर्ष पाँचहजार ५९ जना बिद्यार्थीले एसइई परीक्षा लेख्ने शिक्षा कार्यालयका परीक्षा शाखाका प्राबिधिक सहायक अम्बिकाप्रसाद गौतमले जानकारी दिए ।

चैत ८ गतेदेखि शुरु हुने परीक्षामा नियमीततर्फ चारहजार सातसय ९४ जना र एक्जाम्टेडतर्फ तीनसय ४८ जनागरी जम्मा पाँचहजार ५९ जना बिद्यार्थीले एसइई परीक्षा लेख्नेछन् । गौतमका अनुसार जिल्लाका २३ वटा परीक्षा केन्द्रबाट बिद्यार्थीले परीक्षा लेख्नेछन् । एक्जाम्टेड विद्यार्थीका लागि इलाम सदरमुकामको जुबिलेन्ट इलाइट एकाडेमि परीक्षा केन्द्र तोकिएको छ । जिल्लामा सबभैन्दा बढी इलामनगरपालिकाका छ वटा बिद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

यस्तै सूर्योदय नगरपालिकामा पाँचवटा, देउमाई नगरपालिकामा तीनवटा र माईनगरपालिकामा दुईवटा बिद्यालयमा परीक्षा केन्द्र निर्धारण गरीएको छ । यसैगरी माङसेबुङ्ग गाउँपालिकामा दुईवटा तथा फाकफोकथुम, रोङ, माइजोगमाई, सन्दकपुर र चुलाचुली गाउँपालिकामा एक÷एकवटा बिद्यालयमा परीक्षा केन्द्र रहेको गौतमले जानकारी दिए ।
एसइई परीक्षाका लागि जिल्लामा सबै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । ‘केन्द्राध्यक्ष तोकिसकिएको छ, सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ’, परीक्षा शाखाका प्राबिधिक सहायक गौतमले भने ‘प्रश्नपत्र केन्द्रमा पठाउने कामपनि सुरु भइसकेको छ ।’ गौतमका अनुसार सुरक्षा ब्यबस्थापन पनि भइसकेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी प्रतिकेन्द्र १५ जनाको दरले सुरक्षाकर्मी परीचालन गरीनेछ ।

यो बर्षको एसइई परिक्षामा गतबर्ष जस्तो नियमित, आँशिक (ग्रेडिङ) र एक्जाम्टेड नभई नियमित र एक्जाम्टेड गरी दुई प्रकारमा आठै बिषयमा परीक्षा हुनेछ । नतिजा भने ग्रेडिङ प्रणालीबाटै आउनेछ । इलाममा संस्थागत बिद्यालयका ३७ र सामुदायिक बिद्यालयका ९१ वटा बिद्यालयका बिद्यार्थीहरु एसइई परीक्षामा सामेल हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्