पक्की पुलले गाउँलेको दैनिकी फेरियो



ज्ञानमणि नेपाल, काभ्रे । गएको ९ वर्ष यताको सक्रियता हो गाउँलेहरुको ।

धेरै प्रयास पनि गरेकै हुन् उनीहरुले तर आर्थिक अभावकै कारण यो पक्कि पुलले गत वर्ष सम्म पूर्णता पाउन सकेको थिएन । तर अहिले भने उनीहरुको सपनाले सार्थकता पाएको छ ।

यो पूल निर्माण सम्पन्न भएपछि गाउँलेहरु खुशि मात्र भएका छैनन् , धेरै वर्ष अगाडि देखिको समस्याबाट मुक्ति पनि पाएका छन् ।

जिल्लाको पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिका ११ स्थित जैशिथोकको राम्चेवेंसि जोड्न चाखोलामा निर्माणाधिन पक्किपुलले यतिबेला पूर्णता पाएको छ । वि.सं. ०६५ साल देखि नै यसको निर्माण थालिएको भएपनि यो पुलले आर्थिक अभावकै कारण पूर्णता पाएको थिएन ।

निर्माण शुरु भएको २ वर्ष पछि करिव सम्पन्न अवस्थामा रहेको पूललाई वर्षायाममा आएको बाढीले बगायो । गाउँलेहरुले विभिन्न निकायमा सहयोगको याचना गरे ।

जिल्ला विकास समिती र गाउँ विकास समिती लगायतका विभिन्न संघसंस्था धाउँदा– धाउँदा पुनः निर्माण थालिएको यो पुलमा करिव ३५ लाख भन्दा वढी खर्च भयो ।

बल्ल अहिले सम्पन्न भएर यसबाट मालबाहक सवारीसाधनहरु संचालन हुन थालेको स्थानिय विष्णु प्रसाद सापकोटाले बताए ।
पूल निर्माणका लागि स्थानियस्तरमा चन्दा पनि उठाईएको थियो । तर भरपर्दो निकायको सहयोग अभावले यसले गति लिन सकेको थिएन ।

जसले गर्दा दैनिक सयौं सवारी साधनहरु जोखिम मोल्दै खोला तर्ने गर्थे भने स्थानियवासिहरुलाई पनि ठुलै समस्या थियो ।

अझ गाउँबाट खोला तरेर पाँचखाल र जिरोकिलो पढ्न जाने विद्यार्थी तथा दुध र तरकारी बेच्न बजार जाने कृषकहरु नराम्ररी प्रभावित हुने गरेका भएपनि पूल निर्माण सँगै यी समस्याबाट गाउँलेहरुले मुक्ती पाएको स्थानिय हरिप्रसाद सापकोटाले बताए ।

धेरै वर्षदेखि विभिन्न कारणले सम्पन्न नभएको यो पुलका लागि मेलम्ची खानेपानी विकास समितीले पनि सहयोग गरेको थियो । पूल निर्माण सम्पन्न भए सँगै जैशिथोकका करिव २ हजार भन्दा वढी स्थानियहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

यसअघि गाउँलेहरुले हिउँदमा खोलाको वीचमा ढुङ्गा राखेर तर्ने गरेका थिए भने वर्षायाममा जोखिम मोलेर खोला नै तर्नु पर्ने अवस्था थियो ।

‘गाउँ भन्दा १ घण्टा परको झोलुङ्गे पुल तर्न जानु पर्ने समस्याबाट पनि छुटकरा पायौं ।’ हरिप्रसाद भन्छन् – “अब कृषक र विद्यार्थीहरुका अप्ठ्यारा दिनहरु सकिए ।”

प्रतिक्रिया दिनुहोस्