एसइई परीक्षाका लागी बैतडीमा २७ वटा परिक्षा केन्द्र



विनोद सिंह विष्ट, बैतडी । यही चैत ८ गतेदेखि सञ्चालन हुने एसइई परिक्षामा यसबर्ष बैतडीमा २७ वटा परिक्षा केन्द्र कायम गरिएका छन् । २५ केन्द्र नियमित परिक्षार्थीका लागी कायम गरिएका छन् भने एक्जाम्टेडका २ केन्द्र निर्धारण गरिएका निमित्त जिल्ला शिक्षा अधिकारी शंकर दत्त भट्टले जानकारी दिनुभयो ।

नियमित परिक्षार्थीका लागी साविककै परिक्षाकेन्द्र तोकिएका छन् भने एक्जाम्टेड समूहका लागी विगतका २५ वटा परिक्षाकेन्द्रवाट घटाएर शाहिलेक र पाटन गरी २ स्थानमा मात्रै परिक्षा सञ्चालन हुने जनाएको छ ।

विगतका बर्षमा पाटन, विजयपुर, गाँजरी, गढ, हाट र न्वाघरमा सञ्चालन हुने परिक्षाहरु यसबर्षदेखि पाटन भ्याली बोर्डिंग स्कुल पाटनमा सञ्चालन हुने भएका छन् । यस्तै शर्माली, मेलौली, कुँलाउ, तितावै, रामकिबरायल, खलिगाड र बागा परिक्षा केन्द्रमा सञ्चालन हुने परिक्षा पनि पाटनमै हुने जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

यसैबिच विगतका वर्षमा शाहिलेक, सुन्दरखाली, देहिमाण्डौं, गुरुखोला, पिपलकोट र श्रीकोटमा सञ्चालन हुने परिक्षाहरु यस बर्षदेखि शाहिलेकमा रहेको विरेन्द्र मावि“ख” परिक्षा केन्द्रमा परिक्षा हुने निमित्त जिल्ला शिक्षा अधिकारी भट्टले जानकारी दिनुभयो । यस्तै तल्लादेही, ककरपाखा, सिमार, धामीगाँउ, वगलेखान, ग्वानी र गुर्केली परिक्षाकेन्द्रमा यसअघि सञ्चालन हुदै आएका एक्जाम्टेड समूहको परिक्षा पनि यसबर्षदेखि शाहिलेकमै सञ्चालन हुने भएका छन् ।

यस बर्षको एसइई परीक्षामा बैतडीमा ५ हजार ८ सय बढी परीक्षार्थी सहभागी हुने भएका छन् । जसमा २ हजार ७३६ छात्र र ३ हजार १५८ छात्रा गरी ५ हजार ८९४ परीक्षार्थी सामेल हुनेछन् । नियमिततर्फ २ हजार ५७३ छात्र,२ हजार ८१६ छात्रा गरी ५ हजार ३८९ परीक्षार्थी सहभागी हुने भएका छन् भने १६३ छात्र र ३४२ छात्रा गरी ५०५ जना एक्जाम्टेड तर्फ र ८८ जना प्राविधिकतर्फ परीक्षार्थी सहभागी हुने जनाएको छ ।
यसका साथै एसइई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्