सौन्दर्य सुधारमा कर्मचारी खटाऊ



काठमाडौंको फोहोर व्यवस्थापनका लागि लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको छ । बोर्ड र नेपवेस्टले आगामी २ महिनाभित्र परियोजना विकास सम्झौता गर्नेछन् । यससँगै सो कम्पनीले सम्झौता भएको ३ देखि ६ महिनाभित्रमा आवश्यक तयारी अघि बढाउने भएको छ । नेपवेस्टले काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, गोकर्णेश्वर, दक्षिणकाली, कागेश्वरी–मनोहरा, शंखरापुरसहित ९ वटा नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ ।

नेपवेस्टले नुवाकोटको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने बताइएको छ । अहिले पनि उपत्यकाको फोहोर सोही ठाउँमा व्यवस्थापन हुँदै आएको छ । बोर्ड र कम्पनीको परियोजना सम्झौता अवधि २० वर्षसम्मका लागि भएको बताइएको छ । यस्तो सम्झौता भएपछि काठमाडौं महानगरपालिका (कामपा) को वातावरण विभागमा कार्यरत कर्मचारी भने आनो भूमिका बारे अन्योलमा परेका छन् । कामपाले विभागका कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा प्रस्ट निर्णय लिन सकेको छैन । कर्मचारीलाई वातावरण विभागकै विभिन्न निकायमा खटाउने वा स्वेच्छिक अवकाश दिने भन्नेमा महानगरका अधिकारीहरू अन्योलमा छन् । विभाग मातहत हाल ८ सय ८५ कर्मचारी कार्यरत रहेको बताइएको छ ।

विभागअन्तर्गत १ सय २० जना चालक कार्यरत रहेको कामपाको तथ्यांक छ । यति ठूलो जनशक्तिलाई एकैपटक बाध्यात्मकरूपमा सेवाबाट हटाउन नमिल्ने भएपछि कामपाले फोहोर मैला अनुगमन, सार्वजनिक पार्क र हरियाली व्यवस्थापन, सडक पखाल्ने, धूलो व्यवस्थापन गर्ने कार्यमा खटाउन सकिने विकल्प अघि सारेको छ । त्यसै गरी मठ–मन्दिर र सम्पदा क्षेत्रको सरसफाइको कार्यमा पनि कर्मचारी खटाउन सकिने विभागका अधिकारीहरू बताउँछन् । केहीलाई भने स्वैच्छिक अवकाशको अवसरसहित बिदा गर्ने प्रारम्भिक योजना पनि अघि बढाइएको बताइएको छ । अघि सारिएका यस्ता विकल्पलाई छिट्टै टुंगो लगाउनु उत्तम हुनेछ ।

महानगर र नगरपालिकाभित्रको फोहोर मैला व्यवथापन गर्नु पक्कै पनि चुनौतीपूर्ण कार्य हो । नेपवेस्टले फोहोर मैला संकलन गरेर डम्पिङ साइट पुर्याउनु एउटा पक्ष हो, तर दीर्घकालीनरूपमा फोहोर व्यवस्थापन अर्को महत्त्वपूर्ण कार्य हो । काठमाडौंको उदाहारण मात्रै नियाल्ने हो भने कर्मचारीको अभाव देखाउँदै वर्षौंअघिदेखि सार्वजनिक उद्यान र खुला क्षेत्र व्यवस्थित बन्न सकेका छैनन् । हरियाली र धूलो व्यवस्थापनका योजना योजनामा मात्र सीमित भएको छ । मठ–मन्दिर र सम्पदा क्षेत्र व्यस्थित गर्नु अर्को महत्त्वपूर्ण पाटो हो । फोहोर संकलन गर्दैमा र डम्पिङ साइट पुर्याउँदैमा मात्रै नगरको सौन्दर्य झल्किँदैन । त्यसैले नगरको सुन्दरता कायम गर्न आवश्यक पर्ने रचनात्मक कार्यमा महानगरले कर्मचारी खटाउनु बुद्धिमानी हुन्छ । यसका लागि आवश्यक पर्ने स्रोत साधन पनि जुटाइनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्