उप–सभामुखमा तुम्बाहाम्फे



काठमाडौं, (नेस)
प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेकी सांसद डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ।

शुक्रबार बसेको संसद्को दोस्रो बैठकले उहाँलाई निर्वाचित गरेको हो। तुम्बाहाम्फेलाई हुन्छ भन्ने पक्षमा २ सय र हुँदैन भन्ने पक्षमा ५९ मत परेको थियो। भुसाल र तुम्बाहाम्फेका लागि अलग–अलग निर्णय गरिएको थियो। पहिलो पटक भुसालको निर्णय गरिएको थियो।

एमालेकी समानुपातिक सांसद तुम्बाहाम्फेसँग नेपाली कांगे्रसका तर्फबाट पुष्पा भुसाल (गौतम) ले प्रतिस्पर्धा गर्नुभएको थियो। बिहीबार उम्मेदवारी दर्ता भएको थियो। तुम्बाहाम्फे वाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो। संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ।

तुम्बाहाम्फेको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एमालेका रवीन्द्रप्रसाद अधिकारी हुनुहुन्थ्यो। भुसालको पक्षमा कांग्रेसकी डिला संग्रौला (पन्त) प्रस्तावक र देवेन्द्रराज कँडेल समर्थक हुनुहुन्थ्यो। संग्रौलाले सरकार बनाएको दलले सहमतिका आधारमा विपक्षीलाई उपसभामुख छोडिदिनुपर्ने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्