धरहरा पुनर्निर्माण कहिले ?



काठमाडौ । भूकम्पले भत्काएको तीन वर्ष पुग्न लाग्दा पनि धरहरा पुनर्निर्माणको टुंगो लागेको छैन ।

पुननिर्माणको जिम्मा लिएको नेपाल टेलिकमले हात झिकेपछि अन्योल भएको हो । ६ महिनाअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लिखित जानकारी गराउँदै टेलिकमले धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको थियो ।

कम्पनीको लाभ, लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुला क्षेत्र अधिक राख्नुपर्ने, व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको डिजाइन सरकारले स्वीकृत नगरेको तथा स्थानीय बासिन्दाहरूको परम्परागत रीतिरिवाजलाईसमेत कारण देखाएर टेलिकमले हात झिकेको बताएको छ । पुरातत्व विभागले भने टेलिकमले राखेको सर्त पूरा गर्न सकिने अवस्थामा नरहेको जनाएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायरमा क्षतिग्रस्त सम्पदा, धरहरा, स्वयम्भूनाथ परिसरमा क्षति भएका सम्पदा, मनकामना मन्दिर, भूकम्प प्रभावित जिल्लाहरूमा विद्यालय पुनर्निर्माणका लागि आगामी तीन वर्षभित्र १ अर्ब सहयोग गर्ने प्रतिबद्धता भने कायम रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि बोलाएको बैठकमा टेलिकमले धरहरा पुनर्निर्माणमा बढी लागत लाग्ने देखिएको भन्दै आन्तरिक छलफल गरी जवाफ दिने बताएको थियो । दुई साताभन्दा बढी समय बितिसक्दासमेत टेलिकमले जवाफ नपठाएपछि प्राधिकरणले ५ दिनभित्र धरहरा पुनर्निर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा पेस गर्न निर्देशन दिएको थियो ।

टेलिकमको लिखित जानकारी पाइसकेकाले सरोकारवाला निकायसँग छलफल एवं समन्वय गरी धरहरा पुनर्निर्माणबारे थप निर्णय गरिने प्राधिकरणले जनाएको छ ।
धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत दिइसकेको छ । पहिला धरहरा भएको ५ रोपनी जग्गामा मात्रै पुनर्निर्माण गर्दा राम्रो नहुने भन्दै पुरातत्व विभागले सरकारसँग जग्गा माग्दै आएको थियो ।

गौश्वारा हुलाक कार्यालय र टक्सार विभागको जग्गा धरहरा बनाउन दिने निर्णय सरकारले गरिसकेको छ । अन्यत्र जग्गा दिने सर्तमा टक्सार विभाग र गोश्वारा हुलाक उक्त जग्गा दिन राजी भएको थियो ।

धरहरा पुरानै स्वरूपको तर सुविधाजनक हुने गरी यसको स्टिमेट भएको थियो । तर प्राचीन स्वरूप मास्न लागेको भन्दै स्थानीयवासीले समेत विरोध गरेका थिए ।
भुइँचालोले भत्काएको धरहरालाई जस्ताको तस्तै राखेर त्यही स्वरूपको नयाँ बनाउने गरी डिजाइन भएको हो । पहिला भत्केकोलाई सफा गरि रङरोगन गरेर संरक्षण गरिने पुरातत्व योजना छ ।

नयाँ बनाइने धरहराको उचाइ २ सय ४५ फिटको हुनेछ । भीमसेन थापाले आफ्नो निवास बागदरबार छेउमै १८८१ सालमा धरहरा बनाएका थिए । यो धरहरालाई १९९० सालको भुइँचालोले आंशिक क्षति पुर्याएको थियो । १९९० सालमा भुइँचालो आउनु पहिला नै चट्याङ परेर धरहराको क्षति भइसकेको थियो । ११ तले धरहरालाई ९० सालको भुइँचालोपछि १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ९ तलामा झारेर पुनर्निर्माण गरेका थिए ।

धरहराको निर्माणमा चुनासुर्कीको जोडाइ र इँटाको गारो थियो । यसको डिजाइन मुगल कालिगढले गरेका थिए । अब बन्ने धरहरा पनि मुगल आर्टिटेक्टले गरेको डिजाइनकै आधारमा हुनेछ ।

अब बन्ने धरहरालाई ८ रेक्टरसम्मको भुइँचालोले भत्काउन नसक्ने गरी पुनर्निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्