उपसभामुखको निर्वाचन आज हुँदै



काठमाडौं । संघीय संसदको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।

उपसभामुख चयनका लागि संघीय संसद् सचिवालयले शुक्रबार दिउँसो १ बजे निर्वाचनको समय तय गरेको छ । बिहिबार उपसभामुख पदका लागि नेकपा एमालेबाट डा.शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतमले मनोनयन दर्ता गराएकी थिइन् ।

डा.तुम्बाहाम्फेको प्रस्तावकमा देवप्रसाद गुरुङ र समर्थकमा रवीन्द्रप्रसाद अधिकारी छन् भने भुसालको प्रस्तावकमा डा.डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा दुवै उम्मेदरका बारेमा छलफल गरिने र त्यसपछि मत विभाजन गरिने सचिवालयले जनाएको छ ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्