व्यक्तिगत पेन्सन योजना आउँदै



राजु श्रेष्ठ, काठमाडौं

कर्मचारी सञ्चय कोषले स्वरोजगार एवम् वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई पनि सञ्चयकर्ताका रूपमा सदस्य बनाउने तयारी शुरू गरेको छ। अहिलेसम्म सरकारी कर्मचारी र न्यूनमत् १० जना कर्मचारी रहेको निजी कम्पनीका कर्मचारीलाई सञ्चय कोषको सदस्य बनाउँदै आएकोमा आगामी आर्थिक वर्षदेखि व्यक्तिगत रूपमा पनि कोषको सदस्य बनाउन लागेको हो।

कर्मचारी सञ्चय कोषका कायमुकायम प्रशासक दीपक रौनियारका अनुसार व्यक्ति रूपमा स्वरोजगार व्यक्तिलाई कोषको सदस्य बनाउने विषयमा कोषले कार्यविधि तयार गरी सञ्चालक समितिमा पेश गरिएको र सञ्चालक समितिले पारित गरी अर्थ मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने बताउनुभयो। वर्षमा कम्तिमा एकपटक कोषमा रकम जम्मा गर्ने गरी कार्यविधि तयार गरिएको कोषका मानव संशाधन विभाग प्रमुख अर्जुनकुमार गौतमले जानकारी दिनुभयो। उहाँले कर तिरेको वैधानिक आम्दानीलाई अवकाशपछिको जीवनमा प्राप्त गर्ने गरी न्यूनतम् उमेर र अधिकतम् उमेर तय गरेर व्यक्तिगत रूपमा कोषको सदस्य बन्न सकिने तयारी भइरहेको बताउनुभयो।

गौतमले भन्नुभयो–‘निश्चित आम्दानी घोषणा गरी त्यसको निश्चित प्रतिशत कोषमा जम्मा गर्नुपर्ने र त्यसको अवधि पूरा भएपछि निकाल्न मिल्ने गरी कार्यविधिको मस्यौदामा तयार गरिएको छ। यस किसिमको सञ्चयमा अन्तर्राष्ट्रिय प्रचलनमा सञ्चयकर्ता व्यक्तिले स्थायी रूपमा देश छोडेमा, स्थायीरूपमा अंगभंग भएमा, मृत्यु भएमा वा उमेरको हद पूरा गरेमा रकम फिर्ता पाइन्छ। अन्यथा सञ्चयकर्ताले बीचमा रकम भर्ना गर्न छोडे पनि निश्चित उमेर पूरा नहुँदासम्म रकम कोषमा नै रहन्छ।’ कोषमा अहिले ५ लाख ६० हजार सञ्चयकर्ता रहेका छन्।

कोषले सञ्चयकर्ताका निम्ति कल्याणकारी शीर्षकअन्तर्गत २० दशमलव ८३ करोड रुपियाँ छुट्टाएको छ। गत वर्ष यो शीर्षकमा १५ दशमलव ९९ करोड रुपियाँ विनियोजन गरेको छ। कोषले सञ्चयकर्तालाई काजक्रियावापत ३० हजार रुपियाँ, दुर्घटना क्षतिपूर्ति १ लाख २५ हजार रुपियाँ औषधोपचार २५ हजारदेखि ५० हजार रुपियाँ सुत्केरी तथा शिशु स्याहार खर्च ७ हजार ५ सय रुपियाँ (दुईपटकसम्म) दिँदै आएको छ। आगामी दिनमा कोषले सञ्चयकर्तालाई कडा प्रकृतिका रोगमा पनि स्वाथ्य सहयोग गर्ने तयारी गरिरहेको कामु प्रशासक रौनियारले जानकारी दिनुभयो छ।

प्रतिक्रिया दिनुहोस्