नेयमारको चोटले ब्राजिललाई चिन्ता



लन्डन, (एजेन्सी)
ब्राजिलका प्रशिक्षक टिटेले नेयमारको फिटनेससँग कुनै जोखिम लिन नचाहेको खुलासा गरेपछि ब्राजिलले विश्वकपमा कस्तो प्रदर्शन गर्ने भन्नेमा ब्राजिलका समर्थकलाई अहिलेदेखि नै चिन्ताले सताइसकेको छ। गत विश्वकप ब्राजिलमै भएको थियो। सन् २०१४ मा भएको विश्वकपमा ब्राजिलका यिनै सुपरस्टार खेलाडी नेयमार घाइते भएपछि सेमिफाइनलमा आयोजक राष्ट्रले लाजमर्दो नतिजा भोगेको थियो। ब्राजिललाई च्याम्पियन जर्मनीले ७–१ गोलअन्तरले हराएर ब्राजिलको पाँचपटक विजेता बनेकोमा पनि प्रश्नचिह्न लगाइदिएको थियो।

यसपटक पनि ब्राजिलका लागि शुभ संकेत नभएको ब्राजिली समर्थकको भनाइ छ। नेयमार ब्राजिलका लागि प्रेरणादायक हुन सक्छन्। तर, उनी मेटाटार्सलको शल्यक्रियापछि आराममा छन्। कमसेकम उनी ३ महिनाका लागि मैदानबाहिर हुनेछन्। यो चोटले गर्दा उनको च्याम्पियन्स लिग जित्ने सपना पनि चकनाचुर भइसकेको छ। उनीबिनाको पेरिस सेन्ट जर्मेन आफ्नै घरेलु मैदानमा रियल मेड्रिडसँग हारेर च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ।

ब्राजिलले विश्वकपमा पहिलो खेल जुन १७ मा स्विजरल्यान्डसँग सामना गर्नेछ। ब्राजिलका प्रशिक्षक टिटेले नेयमारको अवस्था हेरेर मात्रै उनलाई टोलीमा बोलाउने बताएका छन्। नेयमार ब्राजिली टोलीमा फर्कन संघर्षरत गरिरहेका छन्। चोटबाट रिकभरी हुन उनलाई ठ्याक्कै ३ महिना लाग्ने उनका बाबुले समेत स्पष्ट पारिसकेका छन्।

फोर फोर टूको रिपोर्टअनुसार टिटेले बताए– ‘नेयमारका बाबुले पहिलो चिन्ता खेलाडीको स्वास्थ्य हो भनेका छन्। हामीले पनि यस्तै सोचेका छौं। स्वास्थ्य पहिला आउँछ। यो विश्वकप हो। कसैको स्वास्थ्यमाथि खेलवाड गर्नु ठीक पनि होइन। छिटो–छिटो निको हुन हामीले दबाब पनि दिन सक्दैनौं।ु

यो भनाइले गर्दा नै विश्वभरिका ब्राजिली समर्थकका लागि चिन्ताको विषय बनेको छ। यसै महिनापछि हुने मैत्रीखेलमा पनि नेयमार उपलब्ध हुने छैनन्। ब्राजिलले विश्वकपका आयोजक राष्ट्र रुस र डिफेन्डिङ च्याम्पियन जर्मनीसँग खेल्ने कार्यक्रम रहेको छ। ब्राजिलले गत विश्वकपमा भन्दा राम्रो गर्ने आशा गरेको छ।

नेयमारले पेरिस सेन्ट जर्मेनमा पहिलो सिजनमा सानदार खेल देखाएका छन्। उनले चोटले बाहिरिनु अगाडिसम्म फ्रेन्च क्लबका लागि २९ गोल गरेका छन्। यस्तै नेयमारले ब्राजिलका लागि ८३ खेल खेलिसकेका छन्। जसमा उनले ५३ गोल गरेका छन्। यो ब्राजिलको सदावहार गोलकर्तामा चौथो स्थानमा पर्छ।

प्रतिक्रिया दिनुहोस्