अझै दुई दिन मौसममा गडबढी हुने



नेपाल समाचारपत्र
काठमाडौं
बुधबार राती नेपालमा भित्रिएको पश्चिमी वायु र मुलुकभित्रै विकास भएको स्थानीय वायुको दोहोरो प्रभावका कारण मुलुकका अधिकांश भेगको मौमस धुमिएको छ। हल्का र छिटफुट वर्षासमेत भएको छ।
भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु–कास्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिएको हो। यस्तो वायुको प्रभाव अझै २⁄३ दिनसम्म दोहोरिँदै मुलुकका धेरै भू–भागमा हल्का र छिटफुट वर्षासमेत हुने मौसमविद्हरूको ठहर छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार शुक्रबार र शनिबार मुलुकका धेरै स्थानको मौसम धुमिएर मेघ गर्जनसहित हल्का र छिटफुट वर्षा हुनेछ।

‘केही बेर मौसम खुलेजस्तो देखिए पनि पूर्णरूपमा खुल्दैन, धेरै ठाउँको मौसम धुमिन्छ, हल्का वर्षासमेत हुने मौसमी गतिविधि विकास भएको छ’, उहाँले भन्नुभयो– ‘आइतबारदेखि मात्रै मौसममा सुधार आउनेछ।’ बिहीबार मुलुकको मध्य र पश्चिमी क्षेत्रमा देखिएको मौसमी प्रभाव आजदेखि भने मध्यतराईबाहेक मुलुकका अधिकांश भेगमा फैलिने पौडेलले बताउनुभयो।

पश्चिमी पहाड र तराई, काठमाडौं, पोखरा र आसपासका क्षेत्रसहित मुलुकको पूर्वी भेगका पहाडी भेगमा हल्का र छिटफुट वर्षा हुने महाशाखाका अधिकारी बताउँछन्। अहिले भित्रिएको मौसमी प्रभावले मनसुन पूर्वाद्ध (प्री मनसुन) गतिविधिलाई थप टेवा पुर्याउने भएकाले अपरान्हको समयमा मेघ गर्जनसहित हल्का वर्षा हुने अर्का मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।

बिहीबार अपरान्ह मुलुकको पश्चिमी भेगमा यस्तो प्रभाव परेको थियो। पश्चिमी वायुको प्रभावका कारण बिहीबार बिहान जुम्लामा ३ मिलिमिटर वर्षा भएको थियो। त्यसै गरी काठमाडौं, भैरहवा, विरेन्द्रनगर, धनगढी, दीपायल र आसपासका क्षेत्रमा छिटफुट वर्षा भएको महाशाखाको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्