म्याग्दीमा उपभोक्ता अधिकार दिवस मनाइयो



प्रताप बानियाँ, म्याग्दी ।

उपभोक्ता अधिकार दिवस मूल समारोह समिति म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा उपभोक्ता अधिकार दिवस मनाइएको छ । ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ भन्ने मूल नारासहित उपभोक्ता दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले अधिकारको खोजी गर्दा आँफूले निभाउनुपर्ने कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताएका छन् । उनले उपभोक्ता आफै सचेत भएर वस्तु तथा सेवाको उपभोग गर्नुपर्नेमा जोड दिँदै सेवा प्रदायकलाई सचेत बनाउनुपर्ने आवश्यकता रहेको बताए । म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टिकाराम सापकोटाले संविधानमा उल्लेख भएका हक र अधिकारलाई उपभोक्ताहरुसमक्ष पु¥याउनुपर्ने बताए ।

कार्यक्रममा नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ, बेनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष सुविन श्रेष्ठ र पत्रकार महासंघका जिल्ला अध्यक्ष तारानाथ शर्माले गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध हुनुपर्ने, अराजकताको अन्त्य गर्नुपर्ने र उपभोक्ताको गुनासो व्यवस्थापनका लागि सुनुवाई डेस्क स्थापना गर्नुपर्ने बताएका थिए ।

उपभोक्ता हकहितसम्बन्धी विभिन्न नाराहरु लेखिएको प्लेकार्ड र व्यानरसहित शहिदस्तम्भचोकबाट बेनीबजारमा प्रभातफेरी ¥याली गरिएको थियो । सन् १९६२ मा मार्च १५ का दिन अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने उपभोक्ता संरक्षण ऐन २०५४ जारी भएपछि दिवस मनाउन सुरु गरिएको थियो ।

उपभोक्ता संरक्षण ऐन २०५४ मा उत्पादन घटाउने, माग र आपूर्ति एवं मूल्यमा प्रतिकूल प्रभाव पार्ने अपराध गरिएमा तीनवर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्