मर्केलद्वारा जर्मन चान्सलरको शपथ ग्रहण



बर्लिन, (एजेन्सी)
महिनौं लामो आन्तरिक राजनीतिक तनावपछि अन्ततः एन्जेला मर्केलले जर्मन चान्सलरको चौथो कार्यकालका लागि बुधबार शपथ ग्रहण गरेकी छिन्। त्यसअघि जर्मनीको संसद्ले उनको छनोटको पक्ष र विपक्षमा खसेको क्रमशः मत ३ सय ६४ र ३ सय १५ को अनुमोदन गरेको थियो।

गठबन्धन निर्माणमा लामो समय लगाएकी मर्केलले अब चाँडै नै काममा लाग्ने प्रतिबद्धता जाहेर गरेकी छिन्। पुनः निर्वाचन भएको झण्डै छ महिना भइसकेको छ। मर्केलको कन्जरभेटिभ सीडीयू⁄सीएसयूले सत्तरी वर्षको इतिहासमा पहिलोपटक सबैभन्दा खराब चुनावी परिणाम निकालेको थियो।

तर मर्केल यसै महिनाको शुरूमा सोसियल डेमोक्रेटस (एसपीडी) सँग गठबन्धन सम्झौता गर्न सफल भएकी थिइन्। यस क्रममा मर्केलले जर्मनीको नयाँ मन्त्रिमण्डलमा अर्थ र विदेश मन्त्रालय गुमाउनुपरेको छ।

मर्केललाई बुन्र्डसटागको तल्लो सभामा बधाई दिन आउनेमा उनका वैज्ञानिक पति जोछिम सउएर र ८९ वर्षीया आमा हर्लिन्ड क्यास्नर पनि रहेका छन्। तर राजनीतिक विश्लेषकहरूले उनको आफ्नै पार्टी र एसपीडीको गरी कुल ३ सय ९९ मत रहेकोमा उनको पक्षमा ३ सय ६४ मत मात्र खस्नु पनि सोचनीय भएको बताएका छन्।

शपथ ग्रहण गर्नुअघि मर्केललाई राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेइरले चान्सलर पदमा औपचारिक नियुक्ति दिएका थिए। गत सेप्टेम्बरमा सम्पन्न आम निर्वाचनमा मूलधारका पार्टीहरूले ठूलो चोट खाएका थिए भने दक्षिणपन्थी लोकप्रियतावादीलाई अप्रत्यासित सफलता मिलेको थियो।

आप्रवास विरोधी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पहिलो पटक संघीय संसद्मा प्रवेश गर्न सफल भएको छ। अहिले यो सबैभन्दा ठूलो विपक्षी समूहका रूपमा प्रस्तुत भएको छ।

प्रतिक्रिया दिनुहोस्