नङसल र रसिला फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
नङसलदेवी तामाङ १४औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको फाइनलमा पुगेकी छन्। सशस्त्रको हल्चोकस्थित कोर्टमा मंगलबार त्रिभुवन आर्मी क्लबकी नङसलले एपीएफकी शोभा गौचनलाई २१–१२, २१–१३ ले हराएर फाइनलमा स्थान बनाइन्। उनको सामना आफ्नै क्लबकी रसिला महर्जनसँग हुनेछ। रसिलाले झापाकी जेसिका गुरुङलाई २१–१३, २१–१७ ले हराएकी हुन्।
यस्तै पुरुष सिंगल्सतर्फ आर्मीका रत्नजित तामाङ सेमिफाइनलमा पुगेका छन्। रत्नजितले आफ्नै क्लबका साथी प्रफुल्ल महर्जनको चुनौती २१–११, २१–८ ले समाप्त पारेका हुन्। अर्को खेलमा पूर्व नम्बर एक भोजपुरका विकास श्रेष्ठ दार्चुलाका प्रिन्स दाहालसँग २१–१८, २१–१८ ले हारेर क्वाटरफाइनलबाटै बाहिरिए। त्यस्तै आर्मीका नवीन श्रेष्ठले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१९, २१–१२ ले र एपीएफका दिपेश धामीले सोही क्लबका विजित थापामगरलाई २१–१९, २१–११ ले पराजित गरी अन्तिम चारको यात्रा तय गरे।
यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फ जेष्ठ व्याडमिन्टन एकेडेमीका नवीनबावु श्रेष्ठ र श्याम पराजुलीको जोडीले सोही एकेडेमीका रमेश अधिकारी र अनोज पौडेलको जोडीलाई २१–१७, २१–१८ ले, काठमाडौंका राजु महर्जन र सुनिल वज्राचार्यको जोडीले एपीएफका रुद्र थिङ र राजबावु महर्जनको जोडीलाई २१–१५, २३–२१ ले, काठमाडौंका भूमि गुरुङ र कर्ण शाहीको जोडीले एपीएफका पदमबहादुर मगर र पूर्णबहादुर बुढाथोकीको जोडीलाई १४–२१, २१–१९, २१–१९ ले तथा ग्यालेक्सी क्लबका राजु भुजु र हरिप्रसाद श्रेष्ठको जोडीले जेष्ठ व्याडमिन्टन एकेडेमीका उमेश केसी र प्रेम घलेको जोडीलाई २१–१२, १–१५ ले पराजित गरी अन्तिम चारमा पुगे।

ललितपुरका ३ खेलाडी सेमिफाइनलमा
यसैगरी १०औं सहवीर स्मृति खुल्ला लनटेनिसअन्तर्गत पुरुष सिंगल्सतर्फ ललितपुरका तीन खेलाडीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। जसमा सन्तोष खत्रीले पोखराका अनिल शाहीलाई ६–३, ६–० ले, जितेन्द्र परियारले नेपाल पुलिस क्लबका कमल भण्डारीलाई १–६, ६–१, ७–५ ले तथा प्रणव खनालले काठमाडौंका मानबहादुर कटुवाललाई ६–१, ६–१ ले हराएर अन्तिमा चारमा पुगेका हुन्। त्यस्तै ७–६ को सेटले पछि परेका बुटवलका विकाश खड्का रिटायर्ड हर्ट हुँदा पोखराका प्रदीप खड्का सहजै अन्तिम चारमा पुगे।

आर्मी र एपीएफ विजयी
सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबलअन्तर्गत लिग चरणको खेलमा आयोजक नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्। सशस्त्रको हल्चोकस्थित भलिबल कोर्टमा आर्मीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१०, २५–१८, २५–१५ ले हरायो। यसैगरी एपीएफ क्लबले ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौंलाई २५–८, २५–५, २५–९ ले पराजित गर्यो।

प्रतिक्रिया दिनुहोस्