पूरा भएन ११ को सपना



भगवती तिमल्सिना
काठमाडौं
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा एमबीबीएस अध्ययन सकेर स्वदेश फर्किएका १३ जना नेपाली विद्यार्थीमध्ये ११ जनाको ज्यान गएको छ।

निकै उत्साहका साथ अन्तिम वर्षको परीक्षा सकेर नतिजा आउन २ महिना लाग्ने भएकाले उक्त अवधि परिवारसँग बिताउने सपना बोकेर आएका थिए तर उनीहरूमध्ये ११ जनाको सपना पूरा हुन पाएन। मृतक विद्यार्थी सबै राजीव रबेया मेडिकल कलेजका भएको पुष्टि भएको छ। उक्त कलेजले ३ दिन शोक मनाउने निर्णय गरेको कलेजका प्रिन्सिपल अबेद होसेनको हवाला दिँदै ढाकाका सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएको छ।

उक्त प्लेन दुर्घटनामा परी मृत्यु हुने विद्यार्थीहरूमा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, सञ्जय पौडेल, आशा शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेका छन्।

दुर्घनामा घाइते भएका २ जना विद्यार्थी प्रिन्सी धामी र समिरा व्यन्जनकारको भने अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। अन्य अस्पतालमा सहजै सञ्चारमाध्यमलाई बिरामीको बारेमा जानकारी गराउने व्यक्ति तोकिएको भए पनि केएमसीमा भने बिरामीको बारेमा जानकारी गराउने व्यक्ति को हो अस्पतालका कर्मचारी अलमलमा परेको भेटियो। घाइतेलाई आईसीयूमा राखिएको र त्यहाँबाट जानकारी दिन नमिल्ने डिउटीमा रहेका चिकित्सकले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।

दुःख व्यक्त
नेपाल चिकित्सक संघ (एनएमए) ले सोमबार भएको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन डा.बालकृष्ण थापासहित अरू ११ जना चिकित्साशास्त्रका विद्यार्थीको निधन भएको भन्दै संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा दुःख व्यक्त गरिएको छ।

त्यसैगरी राष्ट्रिय चिकित्सक संघ (एनडीए) नेपालले विमान दुर्घटनामा डा. थापासहित निधन भएका चिकित्साशास्त्रका विद्यार्थीप्रति गहिरो दुःख प्रकट गरेको जनाएको छ। एनडीएएनका महासचिव डा रमेश ढकालले विज्ञप्ति जारी गरी दुःख व्यक्त गर्नुभएको हो।

चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा. गोविन्द केसीले मंगलबार विज्ञप्ति जारी गर्दै विमान दुर्घटनामा परी सहकर्मी चिकित्सकलगायत धेरै जनाको मृत्यु भएको घटनाले हामीलाई आहत तुल्याएको बताउनुभएको छ।

चार जनाको उपचार ग्रान्डीमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको युएस बंगलाको विमानबाट उद्धार गरिएका मध्ये ४ जनाको उपचार काठमाडौंको टोखा धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भइरहेको छ। मंगलबार मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले दिनुभएको जानकारीअनुसार ग्रान्डी अस्पतालमा उपचारका लागि ल्याइएका चारैजना बिरामी अहिले सघन उपचारकक्षमा हुनुहुन्छ र उहाँहरू खतरामुक्त अवस्थामा हुनुहुन्छ।

घाइतेहरूमा किशोर त्रिपाठीको काँधको हड्डी भाँचिएको र त्यो छुट्टिएको थियो साथमा केही घाउहरू पनि थियो जुन अपरेसन गरिसकेपछि अहिले उहाँलाई सहज भइसकेको अवस्था छ। अर्का बिरामी दयाराम ताम्रकार हुनुहुन्छ उहाँको टाउकोमा चोट लागेको र घाउ भएको थियो। उहाँको घाउ अलि फोहोर अवस्थामा थियो। सोमबार ड्रेसिङ गरिएको थियो र मंगलबार ड्रिब्रिमेन्ड गरेर हामीले सिलाइसकेकाले उहाँको अवस्था पनि स्थिर रहेको छ।

त्यस्तै हरिप्रसाद सुबेदीको पनि सोमबारै अपरेसन गरिसकेको छ। उहाँको अनुहारमा घाउहरू र दायाँ टिबिया अर्थात नली खुट्टाको हड्डी भाँचिएको र दाहिने गोडाको गोलीगाठो भाँचिएको थियो। उहाँको शल्यक्रियापछिको अवस्था स्थिर छ। उहाँले बिहानको ब्रेकफास्ट पनि राम्रोसँग खानुभएको छ। मंगलबार परिवारजनसँग पनि भेट भइसकेको छ। तुलनात्मक रूपमा गम्भीर मानिएका बिरामी बिनोदराज पौडेलको दुवै फोक्सोमा हाबा र रगत भरिएकाले सोमबार अक्सिजन दिएको तथा मंगलबार नरएड्रिनालिनको मेन्टिनेस क्लोज सपोर्टमा राखिएको छ। उहाँको अवस्था अहिले स्थिर छ।

पोस्टमार्टम सक्नै ५ दिन लाग्ने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मंगलबारबाट पोस्टमार्टम शुरु भएको छ। विमान दुर्घटनामा परी मृत्यु हुने अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको फरेन्सिक विभागका प्रमुख डा. प्रमोद श्रेष्ठले जानकारी गराउनुभयो। उहाँले काठमाडौं मेडिकल कलेज (केएमसी) बाट ल्याइएका आठ शवबाहेक अन्य सबैको पहिचान गर्न कठिन अवस्था रहेको बताउनुभयो।

डा. श्रेष्ठका अनुसार शवको प्रकृति हेर्दा एक दिनमा १० देखि १५ जनासम्मको पोस्टमार्टम हुन सक्ला। यही हिसाबले हेर्दा पाँच दिन लाग्न सक्ने डा. श्रेष्ठको भनाइ छ। घाइतेहरूको त्रिवि शिक्षण अस्पताल, केएमसी, नर्भिक, ग्रान्डी, मेडिसिटी, ओमलगायतका अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्