बिस्केट जात्राका लागि दुईवटा लिङ्गो ल्याइयो



पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुरमा प्रसिद्ध बिस्केट जात्राका लागि आवश्यक पर्ने लिङ्गो भेलुखेलस्थित ल्यासिंखेलमा ल्याइएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका चित्तपोलस्थित सल्लाघारीको वनबाट दुईवटा लिङ्गो ल्याइएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो।

बिस्केट जात्राका लागि एक वटा लिङ्गो आवश्यकता परे पनि भाचिने सम्भावनाले जगेडाका लागि दुईवटा लिङ्गो ल्याउने प्रचलन छ। लिङ्गो नभाचिए अर्को सालको बिस्केटमा यसवर्ष ल्याएको जगेडा लिङ्गो प्रयोग गर्ने प्रचलन छ। उहाँले यसवर्षको बिस्केट जात्राको तयारी शुरू भएको र जात्राका लागि ३ लाख २६ हजार रुपियाँ खर्चेर दुईवटा लिङ्गो ल्याइएको बताउनुभयो।विक्रम संवतअनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नववर्षको चार दिन अघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ। चैत्र १५ गतेदेखि काठैकाठबाट प्यागोडा शैलीमा भैरवनाथ र भद्रकालीका दुईवटा रथ निर्माण गरिने उहाँले जानकारी दिनुभयो। रथ निर्माणको लागि आवश्यक काठसमेत ल्याइसकिएको छ भने रथको नयाँ पाङ्ग्रा निर्माणका लागि यसवर्ष नयाँ काठ ल्याइएको छ।

पुरानो काठको पाङ्ग्रा धेरै वर्ष चलेर जीर्ण भएपछि यसवर्ष नयाँ काठ ल्याइए पनि काठ काँचो भएकाले यसवर्ष पुरानै काठबाट पाङ्ग्रा निर्माण गरी अर्को साल नयाँ काठको पाङ्ग्रा बनाइने भएको छ। यसवर्ष बिस्केट जात्राका लागि करिब २० लाख रुपियाँ खर्च हुने अनुमान संस्थानको छ। चैत्र मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने परम्परा छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ। यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ। त्यसैले पनि यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ।

नेपाल संवत २६८ अर्थात् लिच्छवी कालभन्दा अगाडिको यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेषरूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ। त्यसपछि नेपाल संवत ८२७ मा राजा भूपतीन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी ८ रात र ९ दिन मनाउने प्रचलन बसाएको एवं त्यही प्रचलन चल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्