क्षतिपूर्तिको माग गर्दै देउवा अस्पतालमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यूएस बंगला विमान दुर्घटनामा परी घाइते भएकाहरूको उपचारका लागि कुनै कञ्जुस्याईं नगर्न सरकारलाई आग्रह गरेको बताउनुभएको छ।

मंगलबार सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेहरूलाई भेटी सभापति देउवाले घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याईं नगर्न आफूले सरकारसँग माग गरिसकेको बताउनुभएको हो।

देउवाले दुर्घटनामा परेका घाइतेहरूको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकारसँग पहल गर्ने पनि बताउनुभयो। ‘सर्वप्रथम म तपाईंहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, देउवाले घाइतेहरूसँगको भेटमा भन्नुभयो– ‘उपचारमा कुनै कमी आउन नदिन र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग आजै पहल गर्छु।’
कांग्रेस सभापति देउवाले दुर्घटना भएलगत्तै एक विज्ञप्ति जारी गर्दै घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न, उद्धार कार्यमा तदारुकता अपनाउन र विमान दुर्घटनाको तत्काल छानबिन समिति गठन गर्न आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्