प्रहरी र वडा बाल संरक्षण समितिको सक्रियतामा ६ वटा बाल विवाह रोकिए



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको सानीभेरी गाँउपालिकामा प्रहरी र वडा वाल संरक्षण समिती बाल विवाह रोक्ने अभियानमा सक्रिय भएका छन् । गाँउमा अझै पनि रहेको बाल विवाह गर्ने कुप्रथालाई पुर्ण रुपमा रोकथाम गर्ने उद्देश्यका साथ प्रहरी र वडा स्तरका वाल संरक्षण समिती क्रियासिल भएका हुन् ।

सानीभरी गाँउपालिकामा हालै मात्र प्रहरी र वडा बाल संरक्षण समितिको सक्रियतामा ६ वटा बाल विवाह रोकिएका छन् । प्रहरी चौकीमा अर्काे एक उजुरी परेको छ । केटाकेटीको मञ्जुरी विना हुन लागेका विवाह र प्रेम विवाह गरी ६ वटा बाल विवाह रोकिएको वडा बाल संरक्षण समितिले जनाएको छ ।

सरकारले १८ वर्ष सम्ममा गरिने विवाहलाई अपराध र १८ देखी २० वर्ष मुनीको विवाहलाई कानुन विपरित बाल विवाह भनेको छ । बाल विवाह न्यूनिकरणका लागि ‘बिहेवारी, २० वर्ष पारी’ भन्ने नारा दिएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ३, ४, ७, ८ र ९ मा बाल विवाह रोकथामका लागि विशेष अभियान समेत चलाइएको छ ।

यहाँका वडा बाल संरक्षण समितिले यस भन्दा अघि बाल विवाहमा जन्त नजान, भोजमा सहभागी नहुन, ब्राह्मणलाई साइत नहेराउन अनुरोध गरेको छ । यदि त्यस्तो कार्य थाहा भएमा कारवाही गर्ने निर्णय वडा बाल सञ्जालले जनाएको छ ।

प्रहरी र वडा बाल संरक्षण समितिको सक्रियता बढेपछि यहाँ बाल विवाहमा कमी आएको रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित एकीकृत परियोजना अन्र्तगतका शिक्षा कार्यक्रम संयोजक केशव बिसीले जानकारी दिए । ‘हामीले वडामा रहेका वाल संरक्षण समितिहरुलाई तालिमहरु दिइरहेका छौं’ उनले भने, ‘कानुनमा भएका व्यवस्थाका वारेमा प्रशस्त कुरा जानकारी गराएका छौं ।’

‘सानै उमेरमा विवाह गर्दा सामाजिक सद्भाव बिग्रन्छ’ रुकुमेली समाज विकास केन्द्रका बालसंरक्षण अधिकृत रामप्रसाद केसीले भने, ‘यस्ता विवाहहरु रोक्न जरुरी छ।’ बाल विवाहले शैक्षिक, आर्थिक, स्वास्थ्य लगाएत दिर्घकालिन रुपमा समस्या उत्पन्न गर्ने उनले बताए । ‘बाल विवाह भएको थाहा पाएपछि स्थानीयहरुको सहयोगमा प्रहरीमा उजुरी आएको थियो’ प्रहरी चौकी सिम्लीका इन्चार्ज गगनसिं ठकुरीले भने, ‘प्रहरीको रोहबरमा नै बाल विवाह रोकियो।’

बाल विवाह एउटा समस्याका रूपमा नै आएकाले बाल विवाह रोक्न स्थानीयको सहयोगमा बाल विवाह रोकिएको प्रहरीले जनाएको छ । ‘हामीले स्थानीय वडा बाल संरक्षण समितिको सहयोगमा बाल विवाह रोकेका छौं’ ठकुरीले भने, ‘बाल विवाह रोक्न अहिले गाउँका बालबालिका नै सक्रिय हुन थालेका छन ।’ यसै गरी यहाँको बाल विवाह रोकथामका लागी प्रहरी पनि सक्रिय भएको छ । मध्यपहाडी नजिकै प्रहरी चौकी छ । उक्त बाटोमा यातायातका साधनहरु सुचारु छन ।

यहाँ भएर आवत जावत गर्ने विवाहका गाडीलाई प्रहरीले कडाईका साथ चेकजाँच गर्ने गरेको छ । विवाह उमेर पुगेर भएको या नभएको पुरै जानकारी पछि मात्र गाडी पास दिने गरेको यहाँका प्रहरी इन्चार्ज ठकुरीले बताए । बाल विवाह भएको जन्ती गाडी आएमा उक्त विवाह रोक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्