व्यापारीलाई गोली हान्ने भारतीय पक्राउ



यमलाल भुसाल, बुटवल । रुपन्देहीको सदरमुकाम भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्य हरिश सेठिया माथि गोली हान्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोली हानेर भाग्दै गरेका ५५ वर्षीय भारतीय नागरिक रमजान मुसलमानलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताउनु भयो ।

सिद्धार्थनगर नगरपालिका वार्ड नं. ५ घर भई सोही वार्डको बैंकरोड स्थित करणी इन्टरप्राईजेजका संचालक वर्ष ३८ का सेठीया (पिन्टु) सोमवार राति पसल बन्द गरी स्कुटीमा घर तर्फ जादै गरेको अवस्थामा सेवापथमा भारतीय नम्बर प्लेटको मोटर साईकलमा आएका अपरिचित दुई जना व्यक्तिले गोली फायर गरेका थिए ।

गोली प्रहार गरिएपनि मिस फायर हुदा सेठीयालाई कुनै चोटपटक लागेको छैन ।

पक्राउ परेका मुसलमानवाट घरेलु बनावटको नल कटुवा पेस्तोल थान १, सोमा लोड भई फायर भएको अवस्थामा रहेको केएफबीएमएम लेखेको खोका थान १, ऐ.पेस्तोलमा फिट हुने केएफबीएमएम लेखीएको गोली थान १, सामसुङ कम्पनीको नेपाली नंम्बरको सिम सहितको मोवाईल थान १, विभिन्न व्यक्तिहरुको फोन नम्बर भएको डायरी र भारतीय नम्बरकोे मोटरसाईकल प्रहरीले बरामत गरेको जनाएको छ ।

दुई जनामध्ये एक जना भागेको र एक जनालाई स्थानियको सहयोगमा पक्राउ गरी थप अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्