सिमसिमे पानी गायिकाको एकल साँझ



सिमसिमे पानीमा गायिका रेखा शाह पहिलोपटक एकल गायन कार्यक्रममा प्रस्तुत भएकी छिन्। गायिका शाह हालै राजधानीमा आयोजित एकल साँझमा प्रस्तुत भएकी हुन्।

२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत गायन प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको पहिलो गीत सिमसिमे पानीमा गाएको २५ वर्ष पुगेको अवसरमा उनले एकल गायनसँगै सिल्भर जुब्ली वर्ष मनाएकी हुन्।

राजधानीको याक एन्ड यति होटलमा रेखा शाह फाउन्डेसनद्वारा आयोजित समारोह महिला बालबालिका तथा समाज कल्याणमन्त्री माननीय थममाया थापाद्वारा शुभारम्भ गरिएको थियो। कार्यक्रममा मन्त्री थापाले रेखाका गीतको आफू पनि फ्यान भएको बताइन्।

अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजना गरिएको समारोहमा रेखाले सिमसिमे पानीमासँगै एक दिन तिमी फर्की आउनेछौ, तिमीलाई केही, सइको घर काँ हो काँलगायतका आफ्ना गीतका साथमा स्वरसम्राट नारायण गोपाल, तारादेवी, अरूणा लामा, डेजी बराइली, प्रेमध्वज प्रधान, उषा मंगेशकर, ज्ञानु राणाका कालजयी र लोकप्रिय गीतहरू प्रस्तुत गरेकी थिइन्।

उनले गोपाल योञ्जनको शब्द, संगीत र नारायण गोपालको स्वरको तिम्रो जस्तो मुटु मेरो पनि गाउँदा दर्शक रमाएका थिए।

उनले सुरजकुमार थापासँगको युगल गायनमा रातो र चन्द्र सूर्य, मान्छेको माया यहाँ, हेर न हेर कान्छा र नमान लाज यस्तरी गाइन्। द लिजेन्ड ब्यान्डले प्रत्यक्ष वाद्यवादनमा साथ दिएको कार्यक्रममा रातो र चन्द्र सूर्यबाट कार्यक्रमको शुरूआत गरेकी उनले दुई लोकगीत सइको घर काँ हो काँ र सिमसिमे पानीमा गाएर बिट मारेकी थिइन्।

कार्यक्रममा मन्त्री थापाले आयोजक संस्था रेखा शाह फाउन्डेसनको तर्फबाट समाजसेवामा सक्रिय शक्ति समूह नेपालकी संस्थापक सदस्य चरीमाया तामाङ र गायिका तारा थापालाई ताम्रपत्रसहित जनही ११ हजार १ सय ११ रुपियाँसहित सम्मान गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्