कानुनविपरीत ढाला बढाउँदै ट्रिपर व्यवसायी



कर्मचारी र प्रहरी प्रशासनको समेत मिलेमतो

नेपाल समाचारपत्र
काठमाडौं
सरकारी मापदण्डविपरीत ट्रक तथा ट्रिफरमा ढालाको आयतन वृद्धि गरी ढुवानी गर्ने कार्य अझै नियन्त्रण हुन सकेको छैन। यातायात व्यवस्था विभागले ६ चक्के तथा १० चक्के ढुवानी सवारी साधनमा ढालाको आयतन निर्धारण गरे पनि सरकारी कर्मचारी तथा प्रहरी प्रशासनको मिलमतोमा व्यवसायीले मापदण्डभन्दा बढी ढाला राख्दै सामान ढुवानी गरिरहेका छन्।

विभागले ३ वर्ष अघि नै मालबाहक सवारी साधनको भार नियमन सम्बन्धी कार्यविधि तयार पारी सबै मालबाहक सवारी साधनमा ढाला निर्धारण गरेको थियो।

‘मालबाहक सवारी साधनको भार नियमन सम्बन्धी कार्यविधि २०७१’ अनुसार निर्माण सामग्री ढुवानी गर्ने ट्रिपरहरूको ढालाको आयतन तोकेर मात्र ढुवानी गर्ने गरी ६ चक्के ट्रिपरको ढाला ७ दशमलव ५ घनमिटर र १० चक्के ट्रिपरको ढाला १२ घनमिटर तोकेको छ। विभागले सोही अनुसार दर्ता, नामसारीलगायत प्रक्रियाहरू गर्न गराउन मुलुकभरका सबै यातायात व्यवस्था कार्यालयलाई परिपत्रसमेत गरेको छ। तर, यातायात कार्यालयका कर्मचारी तथा प्रहरी प्रशासनको मिलेमतोमा केही व्यवसायीले कानुन बमोजिम निर्धारित आयतनभन्दा बढी सामान ओसार प्रसार गर्दै आएका छन्।

विभागका अनुसार इटहरी, जनकपुर, नारायणी र दाङ क्ष्ँेत्रमा चल्ने ट्रिपरहरूले उक्त समायोजित ढालामा नटबोल्टको माध्यमद्वारा थपेर आयनत बढाई क्षमताभन्दा बढी ढुवानी गर्ने गरेको भेटिएको छ। विभागले गुनासोका आधारमा बारम्बार यस्ता सवारीलाई अनुगमन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचारसमेत गर्दै आएको निर्देशक प्रेमबहादुर सिंहले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो–‘नटबोल्टबाट ढालाको आयतन थपेर क्षमताभन्दा बढी ढुवानी गरिरहेको भन्ने गुनासोहरू आईरहेका छन्। विभागले आफ्नो मातहतका कार्यालयलाई तत्काल अनुगमन गरी यसरी आयतन बढाई सञ्चालन गर्ने ट्रिपरहरूलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिइसकेको छ।’

विभागले मातहतका सबै कार्यालयलाई सवारी साधनको कार्यालय जाँचपास र नवीकरण गर्ने क्रममा नै ती सवारी साधनमा नट बोल्ट कस्ने गरी निर्माण गरिएका ठाउँमा समेत ‘वेल्डिङ’ र ‘ग्रिन्डिङ’ गर्न लगाएर आवश्यक कारबाही गर्न भनेको छ। १० चक्काभन्दा माथिका ढुवानी सवारी साधनको हकमा भने आयतन निर्धारणका लागि विभागले उक्त कार्यविधि संशोधनको तयारी गरिरहेको निर्देशक सिंहले बताउनुभयो।

मापदण्डविपरीत ढाला बढाएर ट्रिपर चलाएको भेटिए ट्राफिक प्रहरीलाई पनि ढाला बढाएर कारबाही गर्नका लागि अधिकार प्रत्याभूत गराईएको छ। तर, ट्राफिक प्रहरीले यस्ता विषयमा कारबाही गरेको भन्ने जानकारी आफू कहाँ नआएको सिंहको भनाइ छ। पछिल्लोपटक गत भदौ २७ गते प्रहरी प्रधान कार्यालय र ट्राफिक निर्देशनालयलाई विभागले पत्र लेखेको छ। विभागका उपसचिव तथा प्राविधिक शाखा प्रमुख मोहनबहादुर थापामगरले जाँचपास तथा नवीकरणका यातायात कार्यालयमा आएका सबै सवारी साधनलाई चेक जाँज गर्ने गरिएको छ। तर, सडकमै गुडिरहेका सवारी साधनमा भने ट्राफिक प्रहरीले निगरानी र कारबाही गर्नुपर्ने थापामगरको भनाइ छ।

निर्धारित मापदण्डभन्दा बाहिर गएर काम गर्ने व्यवसायीका विषयमा अन्य व्यवसायीले समेत विभिन्न समयमा आवाज उठाउँदै आएका छन्। काठमाडौंमा आफ्नै डिपो भएका व्यवसायीले उपत्यका बाहिरबाट २१ टन क्षमता भएका १० चक्के ट्रिपरमा ३० देखि ३५ टनसम्म सामान ढुवानी गर्दै आएका छन्। क्षमताभन्दा बढी सामान ल्याएर केही सामान आफ्नो डिपोमा झार्ने र उपभोक्तालाई भने २१ टन बराबर नै सामान बेच्ने गरेको व्यवसायीहरूको गुनासो छ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका तृतीय उपाध्यक्ष दिलीप पौडेलले समितिमा आबद्ध व्यवसायीलाई यातायात व्यवस्था विभागले निर्धारण गरेको मापदण्डअनुसार नै ढाला निर्धारण गर्न तथा ढालाको आयतनभन्दा बढी सामान नबोक्न निर्देशन दिएको बताउनुभयो। पौडेलका अनुसार समितिले केही समय अघि अनुगमनका क्रममा निर्धारित ढालाभन्दा बढी सामान बोक्ने माहबाहक सवारीलाई नियन्त्रणमा समेत लिएको थियो।

‘हामीले उपत्यका भित्रिन लागेका पाँच छ वटा ट्रिपरलाई खानीखोलामा नियन्त्रणमा दिई कारबाहीसमेत गरेको थियो। तर, अनुगमनको सूचना पाएपछि धेरैजसो बीच बाटोमा नै रोकिए।’ पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो। उपत्यका भित्रिने ट्रिपरमा धादिङको खानीखोला चौकीमा प्रहरी प्रशासनले कडाइका साथ चेकजाँच गर्न सकेमा मात्रै पनि निकै हदसम्म व्यवसायीको मनोमानी कम हुने पौडेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्