जहाँ गाह्रो त्यहीँ साँगुरो



राजधानी काठमाडौंका विशषगरी सुन्धारा, न्यूरोड क्षेत्रमा फुटपाथे व्यापारीका कारण पैदलयात्रीले सहजताका साथ हिँड्न पाएको देखिँदैन। निश्चित समयभन्दा बाहेक यसरी फुटपाथमा व्यापार गर्न नपाउने भन्दै नगर प्रहरीले कहिलेकाहीँ निगरानी बढाएको पनि देखिन्छ। तर एनएसीस्थित काठमाडौं मलको छेउबाट टेबहालतिर छिर्ने मोडमा जहिले पनि पानीका बोतलसहित अन्य सामान बिक्रीका लागि राखिएको देखिन्छ। एक त मोडमा भीड, अर्कोतर्फ यस्ता सामानले बाटो अवरुद्ध, साथै सो मोडबाट टेबहालतर्फ लाग्दा दायाँतर्फका पसलहरूमा पनि छाना गाँसेर सामान झुन्ड्याई बाटो साँगुरो बनाएको देखिन्छ।

जहाँ गाह्रो त्यहाँ साँगुरो भनेजस्तै अफिस समयमा यहाँ मान्छेको जाम नै हुने गरेको छ। यसतर्फ नगर प्रहरीको ध्यान किन नगएको हो। त्यहाँका फुटपाथे व्यापारी र स्थायी पसलेहरूलाई चाहिँ छुट दिइएको हो भने अर्कै कुरा, नत्र व्यवस्थित गर्नुपर्यो।

– उत्तम कार्की, बागबजार, काठमाडौं

मुग्लिन–नारायणगढ सडकमा लापर्वाही किन ?

राजधानी काठमाडौंलाई मुलुकको दुइतिहाइ भागसँग जोड्ने जीवनरेखा मानिएको मुग्लिन–नारायणगढ सढकखण्ड स्तरोन्नतिको काम कहिले सकिने हो भन्ने टुंगो अझै लाग्न सकेको छैन। दुई वर्षभित्र सम्पूर्ण काम सक्ने गरी तीन वर्षअघि तीन खण्डमा विभाजित गरी विभिन्न तीनवटा कम्पनीलाई ठेक्का दिइएको थियो। संझौताअनुसार एक वर्षअघि नै काम सम्पन्न भइसक्नुपर्ने थियो। तर, विभिन्न कारण देखाउँदै ठेकेदारहरूले थप समयको माग गरे। आयोजनाले एक वर्ष समय थप्यो। थप गरिएको एक वर्ष पनि बितिसकेको छ। निर्माणको काम अझै एकतिहाइभन्दा बढी बाँकी छ। यो एकतिहाइ काम सम्पन्न गर्न ठेकेदारहरूले थप तीन वर्षको समय मागेको सडक निर्माण आयोजनाले जनाएको छ।

मुग्लिन–नारायणगढ सडक विस्तारको काम शुरु भइसकेपछि मुलुकमा सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको कार्यकाल बितिसकेको छ। प्रधानमन्त्रीका रूपमा ओलीको पुनरागमन भइसकेको छ। यो अवधिका हरेक प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रीले उक्त सडक निर्माणको स्थलगत अनुगमन गरेका छन्। मुलुकका नीतिनिर्माण तहमा रहेका अधिकारीहरू प्रायः ओहोरदोहोर गर्ने मार्ग यही नै हो। तर, निर्माणले गति लिन सकेको छैन। जम्मा ३६ किलोमिटर लामो र मुलुकको सर्वाधिक चासोका रूपमा रहेको यो सडक आयोजनाको हालत त यस्तो छ भने अन्य विकास निर्माण आयोजनाको अवस्था कस्तो होला ? कहाली लाग्दो प्रश्न खडा भएको छ। ३६ किलोमिटर सडक स्तरोन्नतिका लागि तीन खण्डमा विभाजित गरेर काम गर्न दिँदा पनि यति लामो समय लाग्नु भनेको हाम्रो मुलुक भौतिक पूर्वाधार निर्माण गर्न सक्षम छैन भन्ने संकेत हो।

प्रदेश–३ को राजधानी हेटौँडा कायम गरिएका कारण अबका दिनमा यो सडकको महत्व र आवश्यकता झन् टड्कारो बनेको छ। प्रदेश–३ का करिब ८० प्रतिशत जनता तथा जनप्रतिनिधि हेटौँडा आवतजावत गर्ने मुख्य सडक यही हो। यही आवश्यकतालाई मध्यनजर राख्दै प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले यही सडक स्तरोन्नतिको काम अवलोकन गरेर आफ्नो कार्य प्रारम्भ गरेका छन्। काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको काम सम्पन्न नभएसम्म मुग्लिन–नारायणगढ सडक खण्ड भनेको लाइफलाइन नै हो।

अझ प्रदेश–४ अन्तर्गत पर्ने पूर्वी नवलपरासीका जनता तथा जनप्रतिनिधिहरू आफ्नो राजधानी पोखरा आवतजावत गर्ने सडकखण्ड पनि यही हो। प्रदेश–३ का १३ मध्ये १० र प्रदेश–४ का ११ मध्ये १० गरी २० वटा जिल्लामा दैनिक उपभोग्य सामग्री आपूर्ति हुने एकमात्रै नाका हो यो सडक। केन्द्रीय राजधानी काठमाडौं उपत्यका, प्रदेश राजधानी पोखरा उपत्यका लगायतका धेरै शहरहरूको एकमात्रै लाइफ लाइन हो यो सडक। काठमाडौं–पोखरा लगायतका शहरी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको महँगी बढ्नुको मुख्य कारण यही सडक स्तरोन्नतिको काममा भएको ढिलासुस्ती हो।

यो सडकखण्ड स्तरोन्नतिको काम सम्पन्न हुन जति दिन ढिला हुन्छ मुलुकले त्यति नै ठूलो क्षति बेहोर्नुपरिरहेको छ, सर्वसाधारणले बेहोर्नुपरेको सास्ती त छँदै छ। यो ढिलाइ र सास्तीमा ठेकेदार कम्पनीहरूलाई मात्रै दोष दिने अवस्था छैन। डिजाइनमै गडबडी भएको विज्ञहरूले जनाइसकेका छन्। यसमा मुख्य दोष सरकारी निकायमा रहेका प्राविधिक तथा नीति निर्माताहरूकै छ। पहिलो कुरा त ७० डिग्रीको भीरमा आठ मिटरभन्दा बढी फराकिलो सडक बनाउँदा भूधरातलले धान्न सक्दैन भन्ने सुझाव निर्माणकै क्रममा ४० वर्षअघि चिनियाँ प्राविधिकहरूले दिएका थिए।

तर, नेपाली प्राविधिकहरूले त्यो सुझाव ख्याल नगरी ११ मिटर फराकिलो बनाउने गरी ठेक्का सम्झौता गरे। जसका कारण वर्षा याममा पहिरो जान थालेकोले ठेकेदारहरूले निर्बाधरूपमा काम अघि बढाउन पाएनन्। दोस्रो कुरा, वैकल्पिक व्यवस्थाविना नै सडक स्तरोन्नतिको काम अघि बढाइयो। जबकि विकल्पको व्यवस्था गर्न सकिने सम्भावना प्रशस्त थियो। पहिलो विकल्प भनेको घुमाउने घाटमा पुल निर्माण हो। यहाँ पुल निर्माण गरिएको भए पृथ्वी राजमार्गमा रहेको तनहुँको सदरमुकाम दमौलीतर्फ सवारी डाइभर्सन गर्न सकिन्थ्यो।

यसै गरी मुग्लिनदेखि देवघाटसम्म त्रिशूली नदीको दाहिने किनारैकिनार वैकल्पिक सडक बनाउन सकिन्थ्यो। यो विकल्प तयार नगरी निर्माण शुरु गराउने सरकारी प्राविधिकहरूलाई पनि दण्डित गर्नुपर्छ। अहिले हिउँदमा जसोतसो सडक फाराकिलो बनाइए पनि वर्षा लाग्नेबित्तिकै पहिरोले अवरुद्ध हुने अवस्था छ। त्यसैले समयमै घुमाउने घाटमा बेलिबृज निर्माण गरी दमौलीसम्मको सडकलाई स्तरोन्नति गर्नेतर्फ सरकारले
ध्यान दिनुपर्छ।
– सरस्वती चलाउने, नारायणघाट

प्रतिक्रिया दिनुहोस्