प्रदेश राजधानी जोड्न वैकल्पिक सडक निर्माण गर्दै नगरपालिका



दुर्गाप्रसाद शर्मा, पर्वत

प्रदेश नम्बर ४ को राजधानी पोखरा जोड्नका लागि पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाले संयुक्तरूपमा वैकल्पिक सडक निर्माण थालेका छन्। प्रदेश राजधानी जानका लागि पोखरा–बागलुङ राजमार्गभन्दा छोटो हुने भएपछि जैमुनीबाट फलेबास र कार्कीनेटा हुँदै पोखरा जोड्ने वैकल्पिक सडक निर्माण कार्य थालिएको हो।

उक्त सडक बनेपछि स्थानीय तहलाई आत्मनिर्भर बनाउन र पोखरासम्मको घुमाउरो सडकको विकल्प बन्ने ठानिएको छ। दुवै नगरपालिकाका मुख्य बस्ती जोड्ने उक्त सडक खण्ड निर्माणसँगै नगरपालिकाले आ–आफ्नो क्षेत्रभित्र योजना अघि बनाएका छन्।

नयाँ सडकको लम्बाई ५७ किलोमिटर छ । जैमिनी–कुश्मा १४ र कुश्मा–पोखरा ५८ गरी कुल ७२ किलोमिटरको यात्रा ५७ किलोमिटरमा छोट्टिने भएपछि यात्राको दूरी पनि घट्छ । ‘फलेवास–दोबिल्ला ११ र दोबिल्ला पोखरा ५४ गरी ६५ किलोमिटरको यात्रा अब ५३ किलोमिटरमै छोट्टिएपछि फलेवासबासी कुश्मा पुग्ने कष्ट गर्नुपरेन।–’ फलेबासका नगरप्रमुख पदमपाणि शर्माले भन्नुभयो। यो सडकको ट्रयाक र स्तरोन्नतीका लागि फलेवास नगरपालिकाले यसै वर्ष ९० लाख रुपियाँ बजेट विनियोजन गरी काम शुरू गरिसकेको छ ।

स्थानीय सरकारको स्रोत साधनको प्रयोग गरेर आफ्नै लगानीमा प्रदेश राजधानी जोड्ने छरितो बाटो बनाउँदा चौतर्फी लाभ लिन सकिने शर्माको भनाइ छ। सडकखण्डको ट्रयाक खोल्ने काम शुरू भइसकेको छ। दुवै नगरको साझेदारीमा हाल सडक स्तरोन्नती गर्ने क्रममा पर्वत खण्डमा पर्नेे देवीस्थान–खानीगाउँ–शंकरपोखरी–थापाठाना–कार्कीनेटा हुँदै स्याङ्जा जोड्ने काम शुरू भइसकेको छ । यो सडकलाई जुग्ले हुँदै नागडाँडा पुर्याएर पोखरा जोड्न लागिएको हो । केही पुरानै सडकलाई स्तरवृद्धि र आवश्यक परेका स्थानमा नयाँ ट्रयाक बनाइने नगरप्रमुख शर्माको भनाइ छ। यो सडक बाहै्र महिना चल्दा बाग्लुङको जैमिनीदेखिका सर्वसाधारण र व्यापारिक चाप फलेवासमा बढ्ने र यसले फलेवासलाई सहरीकरण गर्न सघाउने नगरपालिकाको अपेक्षा छ ।

उक्त क्षेत्रका उत्पादन सिधैं पोखरालगायत शहरी क्ष्ँेत्रमा पठाउन सकिने र व्यावसायिक चाप बढेपछि बस्ती पनि विस्तार हुने शर्माको भनाइ छ। बाग्लुङको जैमिनी नगरपालिकाले पनि नगरको केन्द्र कुश्मिशेराबाट सडक स्तरोन्नती गर्ने कार्ययोजना तय गरेको छ । नगर प्रमुख इन्द्रराज पौडेलका अनुसार सडक निर्माणका लागि बजेट विनियोजन भइसकेको छ । यो सडकलाई दुई जिल्लाका दक्षिणी क्षेत्रको आर्थिक समृद्धिसँग जोडेर हेरिएको छ । जैमिनी र फलेवासका बासिन्दा पोखरा पुग्नुपर्दा हाल कच्ची सडकबाट कुश्मा हुँदै जानुपर्ने बाध्यता हट्नेछ ।

कुश्मा–पोखराको वैकल्पिक सडक हालसम्म छैन । सदरमुकामसम्म घुमेर जाँदा सर्वसाधारणलाई समय र आर्थिक भार बढी पर्ने गरेको छ । यो सडकले पर्यटकीय शहर पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई फलेवास र जैमिनीमा भित्राउन पनि ठूलो भूमिका खेल्ने स्थानीयको अपेक्षा छ । ‘यो सडक खुले हामी छिट्टै आत्मनिर्भर हुन्छौं। सबै हिसाबले यो सडक बहुआयामिक हुने देखिन्छ र नगरपालिकाले यसलाई प्राथमिकतामा राख्नुपर्छ।–’ फलेवास ४ का सुनील गौडेलले भन्नुभयो।
दुवै नगरपालिकाले सडकको न्यूनतम मापदण्ड पनि तोकिसकेका छन् ।

फलेवासका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाका अनुसार सडकको मापदण्ड २२ मिटर तोकिएको छ । ‘मुख्य सडक १६ मिटर र दायाँ–बायाँ ३⁄३ मिटर (सेटब्याक) रहनेछ।’– उहाँले भन्नुभयो। सडकको स्तरवृद्धि र नयाँ ट्रयाक खोल्न उपभोक्ता समिति गठन गरी काम शुरू भइसकेको छ। जैमिनीघाटबाट शुरू भएको सडकले साबिकका एक दर्जन गाविसलाई समेट्छ । यसबाहेक स्याङ्जा र बागलुङका दुई स्थानीय तहलेसमेत लाभ लिन सक्नेछन्। सडक विस्तारपछि ग्राभेलिङ, दुवैतर्फ नाली र रिटेनिङ वाल लगायतका योजना रहेको नगरपालिकाले जनाएको छ । बागलुङको जैमिनी नगरपालिका र पर्वतको फलेवास नगरपालिकाका बासिन्दालाई अहिले पोखरा पुग्न ४ घण्टा लाग्छ । यो सडक बनेपछि २ घण्टामै पोखरा पुग्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्