‘महिलाले समान अधिकार प्राप्त गर्न सकेनन्’



काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले अझै पनि महिलाले समान अधिकार प्राप्त गर्न नसकेको बताउनुभएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले १ सय ८ आैंअन्तराष्ट्रिय महिला दिवसको अवसरमा विहिबार गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको अर्थतन्त्रलाई सुदृढ पार्ने भुमिकामा महत्वपूर्ण योगदान पुर्याए पनि महिलाले समान अधिकार हासिल गर्न नसक्नु दुखद भएको बताउनुभयो ।

उहाँले स्वदेशमा आवश्यक रोजगारी श्रृजना हुन नसक्दा विदेशीएका युवा युवतीले प्रवासी कामदारको रुपमा कैंयौ समस्या भोग्नु परेको तथा त्यसले सामाजिक सांस्कृतिक मुल्य मान्यतामा कमी ल्याउनुको साथै पारिवारिक विखण्डन ल्याएको बताउनुभयो ।

उहाँले नयाँ संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभाव मुक्त गर्नुको साथै राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गरेकाले वर्तमानका दिन महिलाका लागि केही सहज बनेको बताउनुभयो ।

महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले समतामुलक समाज निर्माणका लागि सरकार सजग र सचेत रहेको बताउनुभयो । ‘Press for Progress’ भन्ने अन्तराष्ट्रिय नारा भएपनि नेपालमा भने ‘आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने नाराका साथ यो दिवस मनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्