इलाममा पत्रकारमाथि आक्रमण



इलाम, बुधबार बेलुका इलामनगरपालिकामा दुईजना सञ्चारकर्मिमाथि साँघातिक आक्रमण भएको छ । इलाम सदरमुकाममा रहेको चियाबारी एफएममा कार्यरत प्राबिधिक प्रकाश न्यौपाने र ब्यबस्थापक कृष्ण पाठकमाथि आक्रमणका साथै उनीहरुसंग भएको नगद ४५ हजार, सुनको सिक्रि र मोबाइल समेत आक्रमणकारीले लुटेका छन् ।

एफएमबाट डिउटी सकेर बेलुका घर फर्कने क्रममा उनीहरुलाई इलामनगरपालिका ९ गोलबस्थित पोखरी स्कुल छेउमा आक्रमण गरेका थिए । आक्रमण र लुटपाटपछि आक्रमणकारी फरार रहेकाले उनीहरुको खोजिकार्य प्रहरीले गरीरहेको छ । आक्रमणबाट ब्यबस्थापक पाठक गम्भिर रहेका छन् ।

उनलाई इलाम अस्पतालमा उपचार संभव नभएपछि झापाको बिर्तासिटीमा रेफर गरीएको छ । घाईतेका अनुसार अफिसबाट घर फर्किरहेको समयमा रबिन मगर सहित ४÷५ जनाको समूहले पछाडीबाट एक्कासि आक्रमण गरेका थिए । आक्रमणबाट पाठकको टाउको, हात र खुट्टा सहित शरीरका बिभिन्न भागमा चोट लागेको छ । न्यौपानेको भने अवस्था सामान्य रहेको छ ।

सञ्चारकर्मिमाथि साँघातिक आक्रमण भएपछि सो घटनाको बिषयमा प्रहरी प्रशासन गम्भिर भएर लाग्न सञ्चारकर्मिले सुझाएका छन् । चियाबारी एफएमका स्टेशन म्यानेजर प्रेम अधिकारीले सञ्चारकर्मि आक्रमणको घट्नाले सञ्चारकर्मी असुरक्षित रहेको पुष्टि भएको बताएका छन् । घटनाका विषयमा अनुसन्धान आक्रमणमा संलग्नहरुको खोजि भइरहेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।

आरोपित भनिएका रविन मगर यसअघि पनि कुटपिट, तोडफोड लगायतका घटनामा संलग्न भएको स्थानीयले बताएका छन् । सञ्चारकर्र्मीद्धयमाथि भएको आक्रमणको बिभिन्न क्षेत्रबाट बिरोध भएको छ ।

नेपाल प्रेस यूनियनले इलाम शाखाले प्रेस बिज्ञप्ति जारी गर्दै सञ्चारकर्मि भएको आक्रमणको भत्र्सना गर्दै घटनामा संलग्न दोषिलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेको छ । पत्रकारले सुरक्षा प्रत्याभुत गर्न पाउने अवस्था अझै नआएको यूनियनका सचिब गणेश घिमिरेद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख छ । सञ्चारकर्मि आक्रमणको घटनाप्रति नेबिसंघ क्याम्पस इकाईले पनि बिज्ञप्ति जारी गर्दै भत्र्सना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्