त्रिपुरामा भाजपाले लेनिनको मूर्ति ढालेपछि देशव्यापी मूर्ति तोडफोडको लहर



नयाँदिल्ली, (एजेन्सी)
भारतको पूर्वी राज्य त्रिपुरा विधानसभा चुनावमा वाम पार्टी सीपीएमको पराजयपछि हिन्दू राष्ट्रवादीहरूले लेनिनको मूर्ति ढालेका थिए। यससँगै देशव्यापी मूर्ति तोडफोडको लहर चलेको छ।
भाजपा विजय भएपछि त्रिपुरा राजधानी अगरतलाबाट करिब ९० किलोमिटरको दूरी बेलोनियाको सेन्टर अफ कलेज स्क्वायरमा रुसी क्रान्तिका नायक तथा वामपन्थी विचारधाराका प्रतीक भ्लादिमिर लेनिनको मूर्ति ढालेका थिए। ‘भारत माताकी जय’ नारा लगाउँदै भिडले जेसीबी मेसिनको सहयोगमा मूर्ति गिराएका थिए।

उक्त घटनालगत्तै देशको कयौं भागमा मूर्ति तोडफोड भएको समाचार आइरहेका छन्। उत्तर प्रदेशको मेरठमा भीम राव अंबेडकरको प्रतिमालाई नोक्सान पुर्याइएको सञ्चार माध्यमले जनाएका छन्। उक्त घटना रातिको समयमा भएको इन्डिया टुडेले जनाएको छ।

स्थानीय प्रशासनले इलाकामा कुनै प्रकारको तनाव फैलिन नदिन तत्काल कारबाही थालेका छन्। प्रशासनले तोडिएका मूर्तिका स्थानमा नयाँ लगाएको सीएनएन न्युज १८ ले जनाएको छ।

त्रिपुरामा वामपन्थीलाई हराएर भाजपाले जित हासिल गरेको ४८ घण्टा नबित्दै मूर्ति तोड्न थालिएको हो। सन् २०१३ मा वामपन्थीले चुनाव जितेपछि लेनिनको उक्त प्रतिमा राखिएको सञ्चार माध्यमले जनाएको छ। उक्त घटनापछि दक्षिण त्रिपुरामा पनि लेनिनकै अर्को एउटा प्रतिमा ढालियो। सबरुमको अर्को घटनामा भिडले लेनिनको एउटा सानो मूर्ति ढालेको थियो।

दलित नेता पेरियारको मूर्ति तोडफोड
यसबीच तमिलनाडुमा पेरियारको मूर्तिलाई पनि निसाना बनाएको जनाइएको छ। बेल्लुरको तिरुपत्तुर तालुकामा दुई जनाले पेरियारको मूर्तिलाई नोक्सान पुर्याउने प्रयास गरेको प्रहरीले जानकारी दिए। मूर्तिको अनुहारमा हत्यौडा प्रहार गरी तोडफोड गरिएको थियो।

उनीहरूलाई पक्राउ गरिसकेको प्रहरीले बताए। पक्राउ पर्नेमा एकजना भाजपाका शहरको महासचिव भएको बताइएको छ।

श्यामाप्रसादको मूर्ति तोड्ने प्रयास
त्यसैगरी बुधबार पश्चिम बंगालको राजधानी कोलकातामा श्यामाप्रसाद मुखर्जीको एक मूर्तिलाई पनि नोक्सान पुर्याइएको सञ्चार माध्यमहरूले जनाएको छन्।

हिन्दू विचार मानिएका श्यामा प्रसादको उक्त मूर्ति केयोरतालामा रहेको छ। त्यहीँ उनको अन्तिम संस्कार पनि गरिएको थियो। मूर्तिको टोउकोमा घनले तोडफोड गर्ने प्रयास गरिएको र पुरै अनुहारमा फोहर फ्याँकिएको बताइएको छ।

मोदीद्वारा निन्दा
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र भाजपा अध्यक्ष अमित शाहले देशमा लगातार भइरहेका ती घटनाको निन्दा गरेका छन्। अमित शाहले ट्विटमा मूर्ति नष्ट गर्ने घटना दुर्भाग्यपूर्ण भएको र आफूहरू पार्टीका रूपमा कुनै पनि प्रतिमा गिराउने कुरामा समर्थन गर्ने पक्षमा नरहेको उल्लेख गरेका छन्। आफूले तमिलनाडु र त्रिपुरामा पार्टी एकाइसँग कुरा गरेको उनले बताए। मूर्ति तोडफोडमा लाग्ने कुनै पनि व्यक्ति भाजपाका कार्यकर्ताविरुद्ध पार्टीले कठोर कदम उठाउने चेतावनी दिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्