बक्यौता तिर्न एयर एसिया बैंक ग्यारेन्टी खोज्दै



नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसिया एक्सको काठमाडौं उडान तथा अवतरणमा रोक लगाउने अल्टिमेटमको समय सीमा थप गरी शुक्रबार पुर्याएको छ। विमानस्थलको सेवा प्रयोग गरेवापत शुल्क नतिरेपछि उक्त एयरलाइन्सको सेवा मंगलबार बन्द गर्ने तयारी विमानस्थलले थालेको थियो।

‘हामीले बन्द गर्न जानकारीसहितको पत्र एयरलाइन्सको मलेसियास्थित मुख्य कार्यालयमा पठाएपछि कम्पनीका प्रतिनिधि सोमबार नेपाल आएका थिए। हामीले उनीहरूसँग छलफल गर्यौं लिखित प्रतिबद्धता जनाएका छन्।’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो। उहाँका अनुसार सोमबार भएको छलफलमा कम्पनीले आगामी जुलाईसम्म विमानस्थलको बाँकी बक्यौता चुक्ता गर्ने प्रतिबद्धता जनाएको छ।
‘कम्पनीले शुक्रबारसम्म २५ करोड रुपियाँबराबरको बैंक ग्यारेन्टी बुझाउने लिखित प्रतिबघता गरेको छ’, महाप्रबन्धक क्षेत्रीले भन्नुभयो–‘तोकिएको समयसम्म बैंक ग्यारेन्टी पाएनौ ंभने आइतबारदेखि उक्त एयरलाइन्सको सेवा बन्द गर्छौं।’

मलेसियाबाट काठमाडौं र काठमाडौंबाट मलेसिया सिधा उडान गर्दै आएको उक्त एयरलाइन्सले अवतरण शुल्क, पार्किङ शुल्क, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतको करिब ३ वर्षयताको २७ करोड रुपियाँ बक्यौता र १३ करोड जरिवानासहित कुल ४० करोड रुपियाँभन्दा धेरै रकम तिर्नुपर्ने महाप्रबन्धक क्षेत्रीले बताउनुभयो।

एयरलाइन्सको टोली मंगलबार सबै विवरण लिएर फर्किएको छ, हामी आशावादी छौं ,तोकिएको समय सीमाभित्र कम्पनीको लेखा विभागको प्रतिनिधि आएर बक्यौता रकम भुक्तानी गर्छ नभए हामी कानुन अनुसार अगाडि बढ्छौं,’ क्षेत्रीले भन्नुभयो।

एयर एसिया एक्सले काठमाडौंमा हप्तामा ४ वटा उडान भर्दै आएको छ। विमानस्थलले एयर एसिया एक्सको नेपाली उडान बन्द गर्न सक्ने चेतावनी पत्र पठाएपछि गत महिना २ करोड ५० लाख रुपियाँ बक्यौता तिरेको थियो।

प्रतिक्रिया दिनुहोस्