आर्यन र सलोनी च्याम्पियन



काठमान्डौ, (नेस)
पाँचौ नेपाल जूनियर खुला लन टेनिस च्याम्पियनशिपअन्तर्गत १४ वर्ष मुनि उमेर समूहको ब्वाइजमा आर्यन गिरी र गल्र्समा सलोनी तामाङ च्याम्पियन बनेका छन्। प्रतियोगिताको अन्तिम दिन मंगलबार ललितपुर सातदोबाटोस्थित कोर्टमा भएको ब्वाइज फाइनलमा आर्यनले एभ्यक जोशीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। यसैगरी गल्र्स फाइनलमा सलोनी तामाङले रायना शाहलाई ६–४, ७–५ ले हराउँदै उपाधि चुमिन।

यसैगरी १२ वर्ष मुनिको उमेर समूहअन्तर्गत ब्वाइज र गल्र्समा आरभ सम्राट हाडा र सुभाङ्गी लक्ष्मी शाहले उपाधि जित्न सफल भए। आरभले प्रणव मानन्धरलाई ६–२, ६–३ को सेटमा हराउँदा सुभाङ्गी आजा रेग्मीलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनिन्। उपाधि विजेता खेलाडीहरूलाई नेपाल जूनियर लन टेनिसका अध्यक्ष अजय विष्ट लगायत अन्य पदाधिकारीहरूले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्