१ दर्जन पुराना फिल्म डिजिटलाइजेसन हुने महोत्सव गरेर देखाइने



चलचित्र विकास बोर्डले पूराना नेपाली चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटलाइजेसन तथा रेस्टोरेसन कार्य गर्ने भएको छ। बोर्डकी अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा गत पुसमा बसेको बैठकले बनाएको योजनालाई कार्यान्वयनमा लैजान लागिएको हो। अध्यक्ष पौडेलका अनुसार पहिलो चरणमा पहिलो नेपाली फिल्म आमासहित १२ वटा फिल्म डिजिटलाइजेसन गरिनेछ।

‘पुराना रिल प्रविधिबाट बनेका फिल्म खुइलेर जानसक्ने भएकाले त्यसलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तरण गरी संरक्षण गर्न डिजिटलाइजेसन गरिन लागेको हो’, निकिताले भनिन्– ‘यसबाट पुराना फिल्म पनि आधुनिक प्रविधिमार्फत् हेर्न सकिनेछ। पुराना फिल्मलाई डिजिटलाइजेसनको प्रक्रियामा लैजान विकास बोर्डले यसअघि नै एउटा समिति बनाइसकेको छ। समितिले पुराना फिल्मलाई क्रमशः डिजिटलाइजेसन प्रक्रियामा लैजान सिफारिस गरेको छ। डिजिटलाइजेसन भएपछि १६ एमएम र ३५ एमएमका पुराना फिल्म टुके र फोरके फम्र्याटमा हेर्न सकिनेछ।’ आमासँगै के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दुर, परालको आगो, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आज भोलि, विश्वास र शान्तिदीपजस्ता फिल्म डिजिटलाइजेसन गर्न लागिएको हो।

नेपाली फिल्मको गौरवमय इतिहासलाई आम सर्वसाधारणसम्म पुर्याउन फिल्म संग्रहालयको स्थापना गर्ने प्रक्रिया थालनीसमेत भएको छ। उनका अनुसार आगामी असार १६ गते बोर्डको वार्षिकोत्सवमा नेपाली चलचित्रको निर्माण, उत्पादन शुरू भएको ५० वर्ष पार गरेको स्वर्णकालको अवसरमा सप्ताव्यापीरूपमा ती फिल्मलाई फिल्म फेस्टिभलको रूपमा प्रदर्शन गरिनेछ। ‘पुराना फिल्मलाई डिजिटलाइजेसन गरी एक सातासम्म प्रदर्शन गरिनेछ। हामीले नेपालमा फिल्म निमार्ण शुरू भएको ५० वर्ष नाघेको स्वर्ण कालको अवसरमा प्रारम्भिक चरणमा एक दर्जन अति पुराना नेपाली फिल्मलाई डिजिटलाइजेसन गरी एक सातासम्म प्रदर्शन गर्ने निर्णय गरेका छौं’ –उनले भनिन्।

नेपाली फिल्मको संरक्षण र स्तरोन्नतिका लागि यो कदम स्वागतयोग्य हुने कलाकारहरूले बताएका छन्। ‘नेपाली चलचित्रप्रेमीका लागि योभन्दा सुखद् खबर अरू के नै हुन्छ र? यो कदम चलचित्रको विकासका लागि कोशेढुंगा सावित हुनेछ’ –प्रथम अभिनेत्री भुवनचन्द थापा भन्छिन्। ख्यातिप्राप्त हरिवंश आचार्यले विकास बोर्डकी वर्तमान अध्यक्षको कार्यकाल स्वर्णिम युग बन्ने विश्वास व्यक्त गरे। अभिनेत्री वसुन्धरा भुसालले बोर्डको यो निर्णय ऐतिहासिक कदम भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन्। ‘यो कदमले पुराना चलचित्रलाई जीवित राख्छ। यस कार्यमा सबैको सहयोग अनिवार्य छ’ –वसुन्धरा भन्छिन्।


बोर्ड अध्यक्ष पौडेलले नेपाली फिल्म क्षेत्रको व्यापारिक पारदर्शिताका लागि वर्षौंदेखि माग गरिँदै आएको बक्स अफिस प्रणालीलाई लागू गर्नसमेत पहल गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्