पेट्रोलियम पदार्थ उत्खनन् पहिलो प्राथमिकता



हिक्मत नेपाली, दैलेख । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले दैलेखको पंचकोशि क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्लाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सरकार विस्तार संगै कार्यभार सम्हालेपछि पहिलो पटक दैलेख आएका मन्त्री भण्डारीले प्रदेश समृद्धीको लागि प्रदेशका १० जिल्लामा रहेको सम्भावनाहरुलाई खोजी गरिने बताए । ‘कर्णाली प्रदेशलाई मुलुककै नमूना प्रदेश बनाउन प्रदेश सरकारले विभिन्न योजनाहरु अघि सारेको छ’, मन्त्री भण्डारीले भने ‘कर्णाली प्रदेशको पहिचान बदल्न सरकार लागि परेको छ ।’

अर्को प्रसंगमा मन्त्री भण्डारीले देशमा ग्यास र पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला मात्रै ग्यास र पेट्रोलियम पदार्थ उत्खनन्को लागि खोजि गर्ने प्रवृतीलाई प्रदेश सरकारले अन्त्य गर्ने बताए । नाकाबन्दीले देशमा ग्यास र पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला ग्यास र पेट्रोलियम पदार्थको खानी रहेको दैलेखको पंचकोशी क्षेत्रका खोला र भिरबाट निश्किएका ग्यास र पेट्रोलहरुको तत्कालिन उद्योग मन्त्री सोमप्रसाद पाण्डेले दैलेखमा आएर एक महिनाभित्र उत्खनन् प्रकृया सुरु हुने बताएका थिए । खानी तथा भू–गर्भ विभागले तत्काल उत्खनन् गर्न सम्भावित क्षेत्र भएको पुष्टि समेत गरिसकेको छ ।

मन्त्री भण्डारीले ५२ प्रतिशत जनसंख्या गरिबिको रेखामुनी रहेको कर्णाली प्रदेशमा चूनौतीहरुको चाङबाट सम्भावनाहरुको खोजी भइरहेको बताए । कर्णाली प्रदेशमा हाइड्रोपावर संचालन र पर्यटन क्षेत्रको विकास गर्न सकेमात्र समुद्ध प्रदेश बनाउन सकिने बताए । प्रदेशको समग्र विकासका लागि शान्ति सुरक्षाको प्रत्याभुत गराउनु सरकारको पहिलो दायित्व भएको बताउदै मन्त्री भण्डारीले शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले ४० बुँदे घोषणा पत्र जारि गरिसकेको बताए ।

अर्को प्रशंगमा मन्त्री भण्डारीले माथिल्लो कर्णाली आयोजनामा सुरक्षाको कुनै पनि कसर बाँकी नराख्ने बताउदै शान्ति सुरक्षाको वाहानामा निर्माणको जिम्मा पाएको जिएमआर कम्पनी भाग्न नहुने बताए ।

उनले डिजिटल प्रदेश निर्माणका लागि सुरुमा जनचेतनामुलक कार्यक्रम संचालन गर्ने जानकारी दिएका छन् । कर्णाली प्रदेशमा सडक दुर्घटनालाई न्यूनिकरण गर्नका लागि सडक सुरक्षा कार्यक्रम संचालन गरिएको बताउदै सरकारले ल्याएको कार्यक्रमहरुमा जनता संग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत गरेका छन् ।

यस्तै कर्णाली प्रदेशका सांसद शुसिल कुमार थापाले दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन् र माथिल्लो कर्णाली आयोजना निर्माणलाई प्रदेशले प्राथमिकतामा राख्ने बताए । माथिल्लो कर्णाली आयोजना निर्माण कार्यलाई दु्रत गतिमा अगाडी बढाउन निर्माण कम्पनीलाई बारम्बार घच्घचाई रहेको बताउदै आगामी भदौ ३ गते सम्म जुनसुकै हालतमा पनि निर्माण कार्य सुरु हुनुपर्ने साँसद थापाले बताए । निर्माणको जिम्मा पाएको भारतिय कम्पनी जिएमआर कम्पनी कुनै पनि बाहानामा आयोजना निर्माण नगरि भाग्न नपाउने बताउदै कुनै बाहानामा निर्माण कम्पनी भाग्न खोजे कम्पनीलाई कालो सूचीमा राखेर कुनै पनि क्षतीपुर्ती नदिने ठोकुवा समेत गरेका छन् ।

जिल्ला समन्वय समिति दैलेखमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक रण बहादुर चन्दले प्रदेशमा रहेको प्रहरी संगठनहरुको अवस्था बारे जानकारी गराएका थिए । उनले प्रदेशका १० जिल्लाहरुमा हुने लागु औषध दुव्र्यसनी, महिला हिंसा लगाएतका आपराधिक क्रियाकलापहरु रोक्नका लागि प्रदेश सरकार र प्रदेश प्रहरीले विभिन्न कार्यक्रमहरु संचालन गरेको बताए ।

कार्यक्रममा जिल्लाका विभिन्न मागहरु राख्दै जिल्ला समन्वय समिति दैलेखले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ज्ञापन पत्र पेश गरेको छ । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले प्रदेश सरकार संग विभन्न मागहरु राख्दै ज्ञापन पत्र बुझाइएको बताए ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी समक्ष दैलेखका नागरिकहरुले दैलेखलाई प्रदेशकै प्रमुख पर्यटकिय क्षेत्र निर्माण तथा जिल्ला भित्र रहेका ठृुला विकासका आयोजनाहरुको निर्माण कार्यलाई तत्काल सुरु गर्न माग राखेका छन् । कार्यमक्रममा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुखहरु, राजनीतिक दल, जिल्लाका कार्यालय प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्