यदु स्मृति पत्रकारिता पुरस्कार शाहलाई



धनवीर दाहाल, रुकुम । यसवर्षको यदु स्मृति पत्रकारिता पुरस्कार रुकुमका पत्रकार नारायणकुमार शाहलाई प्रदान गरिएको छ । १९ औं यदु स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा रेडियो सिस्ने रुकुमका स्टेशन प्रमुख समेत रहेका पत्रकार शाहलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानका अध्यक्ष एवं नेकपा एमाले रुकुमका उपाध्यक्ष ऋषिप्रसाद जैसीको अध्यक्षता एवं एमाले उपाध्यक्ष बामदेव गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यदु स्मृति प्रतिष्ठान रुकुमको आयोजना र नेकपा एमाले रुकुम–काठमाडौं सम्पर्क मञ्चको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको हो । २०५५ साल फागुन २१ गते आम निर्वाचनको प्रचार प्रसारको कामको शिलशिलामा रुकुमको गरायला गाविसमा तत्कालीन नेकपा माओवादीका जत्थाले गौतमको हत्या गरेको थियो ।

स्वर्गीय यदु गौतम तत्कालीन समयमा नेकपा एमाले रुकुमका सचिव तथा प्रतिनिधि सभा निर्वाचनमा रुकुम क्षेत्र नं. २ बाट उम्मेदवार हुनुहुन्थ्यो । निर्वाचन नहुँदै उहाँको हत्यापछि श्रीमति तिर्था गौतम उम्मेदवार भई विजयी समेत हुनुभएको थियो । यदु गौतमको हत्यापछि यदु स्मृति प्रतिष्ठान गठन गरी विभिन्न क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ ।

विगत १६ वर्षदेखि हत्या हिंसाको विरुद्धमा कलम चलाउने पत्रकारलाई यसरी पुरस्कृत गर्ने कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानका उपाध्यक्ष भिउमान घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम, उपाध्यक्ष युवराज ज्ञवाली, यदु गौतमकी श्रीमति तथा प्रतिनिधिसभा सदस्य तिर्था गौतम, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा, नेकपा एमाले केन्द्रीय सदस्य खेममान खड्का र पुरस्कृत पत्रकार नारायणकुमार शाहले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरी र कोमल ओली, नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्यहरु शेरबहादुर केसी र गुलागजङ्ग शाह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेकपा एमाले रुकुम–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष पुस्तक चन्दले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्