विनासुझबुझ नागरिकमा करको भारी नबोकाइयोस्



यहाँका दशवटै स्थानीय निकायमा यति बेला करको दायरा र स्थानीय तहले बढाएको करको विषयमा सर्वसाधारणबीच छलफलको विषय बनेको छ। जिल्लाका केही स्थानीय तहले हतारमा गरेको निर्णयका कारण करजस्तो महत्वपूर्ण विषयले छलफल र बहसको बाटो लिएको हो। लामो समय स्थानीय तह कर्मचारीको भरमा चले। द्वन्द्वको बेला गाउँघरमा बसेर काम गर्ने वातावरण नरहेकाले जिल्ला सदरमुकाममा केन्द्रित भएका कर्मचारीले तत्कालीन सरकारले तोकेको करसमेत उठाउन सक्ने अवस्था थिएन। एकातर्फ द्वन्द्व र संक्रमणकाल पार गरेर आएका सर्वसाधारण त अर्कोतर्फ ठूलो अपेक्षासहित स्थानीय निकायमा आफ्ना प्रतिनिधि पठाएको बेला सर्वसाधारणको हकहित र उन्नतिको लागि काम गर्नुको साटो उल्टो सर्वसाधारणकै ढाड सेक्ने गरी गरिएको कर वृद्धिको विरोध हुनु र छलफलको विषय बन्नु स्वाभाविक पाटो हो।

देशको अर्थतन्त्रको महत्वपूर्ण पाटो भनेको कर हो। देशका हरेक निकाय सञ्चालन गर्नका लागि र आर्थिक तथा भौतिक विकासका योजनाहरूको निर्माणका लागि समेत करबाट संकलित रकमको प्रयोग नगरेसम्म सम्भव नहोला तर देशमा सबै खाले विकासको लागि कर संकलन आवश्यक छ भन्दैमा एक्कासी कर र करको दायरा बढाउनु भनेको स्थानीय निकायमा निर्वाचितहरूको कार्य निपुणतामा प्रस्नचिह्न खडा हुनु हो।

नागरिकले राज्यको विकासका लागि हरेक आर्थिक क्रियाकलापमा कर तिर्नुपर्छ। यस कुरामा कहीँ कोही पनि असहमत नहोलान् तर कर तिर्नुपर्छ भन्दैमा सत्ताको मातमा सुविधा उपभोगको स्रोत बनाउनकै लागि बढाइएको कर तिर्न नागरिक बाध्य हुन्छन् भन्ने छैन। नागरिकले आर्थिक क्रियाकलाप सञ्चालन गरेर कर तिरेपछि राज्यले पनि नागरिकको अनुकूल हुने खालका कार्यक्रम अगाडि ल्याउन जरुरी छ। चाहे त्यो स्थानीय तह होस् या राष्ट्रिय नीतिगत तह होस्। देशका ठूला घरानादेखि साना बस्तीहरूमा समेत ठूला–ठूला आर्थिक क्रियाकलाप सञ्चालन गरेर राज्यको आँखा छल्दै करोडौं रुपियाँ कर छली गर्नेहरू खुलेआम हिँडिरहेका छन्।

भर्खरै मात्र निर्वाचित जनप्रतिनिधिबाट सर्वसाधारणले चाहेको भनेको कर छल्नेलाई कानुनको कठघरामा ल्याउनु हो। स्थानीय तहमा सानो–सानो पुँजीबाट सानो व्यवसाय गर्ने र सामान्य गाँस, बास र कपासको जोहो गरेर बसेकाहरूबाट घरधुरी कर, जमिन करलगायतका करको नाम दिइएका करहरूमा मूल्य बढाएर स्थानीय तहको आर्थिक जोहो गर्न खोजेकाहरूलाई आज आमसर्वसाधारणले कर छली गरेर अकुत सम्पत्ति कमाउनेहरूलाई राज्यले कानुनको दायरामा ल्याएको हेर्न चाहेका छन्। स्थानीय तहदेखि उपल्लो तहसम्म यो विषयमा गम्भीर रूपमा कुरा चल्नु आवश्यक छ।

नागरिकले राज्यले लगाएको कर तिर्नै पर्छ। किनकि कर तिरेर मात्रै राष्ट्रको नागरिक हुने हैसियत प्राप्त हुन्छ। राज्यले नागरिकको आर्थिक अवस्था हेरेर करको दर कायम गर्नुपर्छ, जसले गर्दा नागरिक र राज्यको बीचमा सुमधुर सम्बन्धको अपेक्षा गर्न सकिन्छ। अन्यथा राज्यले शक्तिको दुरूपयोग गर्ने र नागरिकले आफैंले बनाएको सरकारको विश्वास नगर्ने हो भने यसको परिणाम प्रत्युत्पादक हुने
निश्चित छ।
– सिर्जना केसी बाग्लुङ

कोलेस्ट्रोल घटाउने १४ प्रभावकारी तरिका
मासु कमः रातो मासुले कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले भोजनमा मासुको प्रयोग कम गर्नुहोस्। यदि मासु खानै पर्ने भए सेतो मासु खानुहोस्। बिफ, पोर्क र भेडाको मासु खान छोड्नुहोस्। बरु माछा खानुहोस्।

चिल्लो कमः न्यून चिल्लोयुक्त भोजनले शरीरमा कोलेस्ट्रोल विकसित हुने खतरालाई न्यून पार्न सक्नुहुन्छ। भोजनमा पर्याप्त फलफूल र सागसब्जी समावेश गर्नुहोस्। त्यस्तै बदाम र बियाँहरू पनि पर्याप्त खानुहोस्। भोजनमा हुने तैलीय पदार्थबाट सदा बच्नुहोस्। नियमित भोजनमा प्रयोग हुने तेलको मात्रा घटाउनुहोस्। सोयाबिन, ल्वाङ आदिको तेल प्रयोग गर्नुहोस्।

तौल कमः कोलेस्ट्रोलबाट बच्न तौल कम राख्नु पनि उत्तिकै महत्व हुन्छ।स्वस्थ तौल छ वा छैन बारम्बार परीक्षण गर्नुहोस्। बढी मोटोपनले कोलेस्ट्रोल निम्त्याउँछ।

फाइबरयुक्त खानेकुराः दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुहोस्। यसले कोलेस्ट्रोलको मात्रालाई पाँच प्रतिशतले मात्र बढाउने सम्भावना हुन्छ। भोजनमा पर्याप्त फाइबर पाउनका लागि ब्रेकफास्टमा जौको रोटी खानुहोस्। खानासँगै पर्याप्त सब्जी पनि खानुहोस्।
नियमित कोलेस्ट्रोल परीक्षणः कोलेस्ट्रोलको खतराबाट बच्नका लागि नियमितरूपमा परीक्षण गर्नुहोस्। नियमित परीक्षणले कोलेस्ट्रोलको अणुको पहिचान गर्न सहयोग मिल्छ।

व्यायामः दैनिक ३० मिनेट व्यायाम गर्नुहोस्। कोलेस्ट्रोलबाट बच्ने एउटा प्रमुख उपाय व्यायाम पनि हो। किनकि यसले तपाईंलाई स्वस्थ तौल राख्न पनि सहयोग गर्छ।

माछाः माछामा कोलेस्ट्रोल घटाउने प्रभावकारी तत्व हुन्छ। कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नको लागि सातामा दुईदेखि तीनपटक भोजनमा माछाको तेल वा माछाको परिकार खानुहोस्।

बदामः साँझ निकै भोकाउनुभएको छ भने अन्य अस्वस्थ खाना खानुभन्दा बदाम खानुहोस्। बदामको नियमित सेवनले तल्लो मुटुको रोगलाई निको पार्छ। बदाम स्वास्थ्यवद्र्धक मात्र होइन, भोजनमा यसले पूरकको रूपमा पनि काम गरेको हुन्छ।

हिँड्ने बानीः खुडकिलाहरू चढ्नुहोस्। जति हिँड्नुहुन्छ त्यति बढी कोलेस्ट्रोल हुने खतराबाट मुक्ति हुनुहुन्छ। शारीरिक गतिविधिका लागि हिँडडुल सबैभन्दा प्रभावकारी माध्यम हो। यो आफैंमा सरल र सस्तो उपाय पनि हो।

अण्डा शत्रुः अण्डा कम खानुहोस्। अण्डालाई मुटु र कोलेस्ट्रोल रोगको मुख्य शत्रु मानिन्छ। तर, तपाईंले भोजनमा अण्डाको थोरै परिकार समावेश गर्न सक्नुहुन्छ। थोरै तेल प्रयोग गरेर मात्र अण्डा खानुहोस्।

हरियो चियाः आजैदेखि हरियो चिया खान शुरु गर्नुहोस्। ग्रिन टीमा क्याटेचिनस नाम गरेको पदार्थ हुनाले यसले कोलेस्ट्रोललाई घटाउन सहयोग गर्छ। दीर्घकालीन स्वस्थ रहनका लागि पनि ग्रीन टी अचुक औषधि हो।

शाकाहारी भोजनः सकभर शाकाहारी खाना खानुहोस्। कोलस्ट्रोलको खतरालाई न्यून गर्न यो प्रभाककारी उपाय हो। विभिन्न प्रकारका शागसब्जीले तपार्इंको स्वास्थ्यलाई सशक्त पार्नुको साथै शरीरमा भिटामिन, खनिज र अक्सीकरणविरोधी तत्व प्रदान गर्छ।

पर्याप्त निद्राः पर्याप्त निद्राले शरीरको रोग निको पार्न सहयोग पुर्याउँछ। यसले उच्च रक्तचापलाई सन्तुलन गर्नुका साथै तपाईंको समग्र शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ। यसका अतिरिक्त पर्याप्त निद्राले कोल्स्ट्रोलको खतरा घटाउँछ।

धूमपानबाट टाढाः कोलेस्ट्रोललगायत विभिन्न घातक रोगको प्रमुख कारण धूमपान हो। अत्यधिक धूमपानले एचडीएल कोलेस्ट्रोलको मात्रा घटाउँछ, यो मुटुको रोगका लागि एउटा प्रमुख खतरनाक तत्व पनि हो। तसर्थ तपाईं लामो समयसम्म स्वस्थरूपमा बाँच्न चाहनुहुन्छ भने धूमपान त्याग्नुहोस्।

– सम्झना खनाल, एमबीबीएस विद्यार्थी

प्रतिक्रिया दिनुहोस्