पाकिस्तानको सिनेटमा हिन्दू दलित महिला



इस्लामावाद, (एजेन्सी)
गत सप्ताहान्त पाकिस्तानमा भएको चुनावमा अल्पमत दलित समुदायका हिन्दू महिला सिनेटका लागि निर्वाचित भएको सञ्चार माध्यमले आइतबार जनाएको छ।

तालिवानसंग आवद्ध १ जना धार्मिक नेतालाई हराएर कृष्णा कुमारी पाकिस्तानको इतिहासमै सिनेटमा प्रवेश गर्ने पहिलो हिन्दू महिला बनेकी छिन्।

पाकिस्तान पिपुल्स पार्टीका सदस्य कृष्णा अझै पनि पाकिस्तान र भारतमा जातीय प्रणालीअनुसार अछुत मानिने दलित समूहका हुन्। राष्ट्रिय र ४ वटा प्रान्तियसभामा विधायकहरूले शनिबार १ सय ४ सदस्यीय सिनेटका लागि ५० प्रतिशत सदस्य ६ वर्षका लागि छनोट गरेका थिए।

यस निर्वाचनमा १५ सिट जितेका पाकिस्तानका अपदस्थ प्रधानमन्त्री नवाज सरिफको पार्टीले कूल ३३ सिटसहति संसदको माथिल्लो सभामा बहुमत स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी पूर्वराष्ट्रपति आसिफ जर्दारीको पार्टी दोस्रो र पूवक्रिकेट स्टार इमरान खानले नेतृत्व गरेको पार्टीले तेस्रो स्थान हासिल गरेको छ। खानको पार्टीले समर्थन गरेका तथा थुप्रै तालिवान नेताका मार्गनिर्देशक मानिने मौलाना सामिनुल हकले भने चुनाव हारेका छन्।

पाकिस्तानमा केही अतिवादी समूहहरूले केही वर्ष यता कटट्र इस्लामिक कानुनको समर्थन र संयुक्त राज्य अमेरिकाको नीतिको विरोधमा विशाल र्यालीहरूको आयोजना हुँदै आएका छन्। सन् १९४७ मा पाकिस्तान र भारत छुट्टिएपछि जनता साटासाट गर्ने क्रममा पाकिस्तानका अधिकांश हिन्दू भारततर्फ लागेका थिए।

प्रतिक्रिया दिनुहोस्