निर्वाचित भएको ४ महिनापछि सांसदहरुले शपथ  लिए



काठमाडौं । संघीय सांसदहरुको बहुप्रतिक्षित शपथ आइतबार सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यहरुले निर्वाचित भएको ४ महिनापछि मात्र आधिकारिक रुपमा सांसद भएका छन् । प्रतिनिधिसभा निर्वाचन मंसिर १० र २१ गते दुर्इ चरणमा भएकाे थियाे । मतपरिणाम मंसिर अन्त्यसम्म सार्वजनिक भएकाे थियाे । राष्ट्रियसभाका सदस्यहरु पनि चुनिएको एक महिनापछि मात्र आधिकारिक भएका छन् । राष्ट्रियसभा निर्वाचन माघ २५ मा भएकाे थियाे ।

सांसदहरुले शपथ लिएपछि मात्र राज्यबाट निर्धारित सुविधा लिन पाउँछन् ।  संघीय सांसदहरुले जेष्ठ सदस्यबाट शपथ लिएका हुन् । सांसदहरुको शपथअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनु भएको थियो ।

प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य ठाकुरले शपथ गराउनु भयो । प्रतिनिधिसभाका २ सय ७५ सदस्य मध्ये ४ जना बाहेक सबैको शपथ भएको छ । प्रतिनिधिसभधाको जेष्ठ सदस्य महेन्द्र राय शपथमा उपस्थित हुन भएन । माओवादी केन्द्रका टोपबहादुर रायमाझी र धर्मशीला चापागाई उपत्यका बाहिर रहेको कारण शपथमा छुट्नु भएको छ । त्यस्तै कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको शपथ भएन ।

राष्ट्रियसभाका ५९ मध्ये ५६ जनाले शपथ लिएका छन् । राष्ट्रियसभाका सांसदहरुलाई जेष्ठ सदस्य भट्टले शपथ गराउनु भयो । राष्ट्रियसभामा मनोनित अर्थमन्त्री डा युवराज खतिवडा, रामनारायण बिडारी र डा बिमला पौडेल राईलाई सर्वोच्च अदालतको रोक आदेशको कारण शपथ भएन । संघीय ससदको पहिलो बैठक सोमबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्