गाईभैसी बेचेर किवी खेतीमा रमाउँदै पर्वतका कृषक



दुर्गाप्रसाद शर्मा, पर्वत । परिक्षणका रुपमा शुरु भएको किवी खेती सफल भएपछि एक व्यक्तिले पशु बिक्री गरेर किविमा लगानी गरेका छन् । जिल्लाको जलजला गाउँपालिका ५ लेखफाँटका कृष्णबहादुर रञ्तिजाले करिव तीन लाखको लगानीमा किविको व्यवसायिक खेती थालेका हुन् ।

कृषि कार्यालय र एक बिदेशी बिशेषज्ञले २०६६ सालमा किवीको सम्भावनाबारे बताएपछि उनले परिक्षणका रुपमा केहि बोट लगाएका थिए । उनले गरेको किवी खेतीले राम्रो उत्पादन दियो । कृषि प्राविधिकले यहाँ किवी हुन्छ भनेका थिए,रञ्तिजाले भने,‘ त्यहि सुनेर दुईओटा लैना भैंसी, एउटा गोरु बेचें । ६० हजारको ढिकुरी बुझेर यसमा लगानी गरें । अहिले फल लागेपछि आसा पलाएको छ ।’ यो खेतीमा अहिलेसम्म चार लाख लगानी गरेका रञ्तिजाले यो नौलो जात भएपनि लगानी उठ्नेमा विस्वास बढेको बताए ।

काठमाण्डौस्थीत गोदाबरीबाट दुई किलो बिउ ल्याएका रञ्तिजाको बारीमा अहिले साढे दुई सय बोटले फल दिन शुरु गरेका छन् । अन्य करिव १७ सय कलमी बिरुवा छन् । उनले भने,‘अहिले कलमी बिरुवा प्रति गोटा तीन सयमा बिक्री हुने रहेछ ,सबै बिरुवा बिक्रि भयो भने बिरुवा बेचेर पनि लगानी उठ्छ ।’ उनले कृषि र घरेलु कार्यालयमा किवी नर्सरी दर्ता गरेका छन् । यो खेती गर्न शुरुमा कृषि कार्यालयले केहि आर्थिक र प्राविधिक सहयोग गरेको उनले बताए ।

नेपाली बजारमा प्रति किलो ६ सय सम्ममा बिक्रि हुने किवीको व्यवसायिक खेती जिल्लाको पहिलो भएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मीले बताए । रञ्तिजाले गरेको खेती सफल भएपछि अरु जिल्लाकै शालिजा, भुक, वनौँ, चित्रे, देउराली लगायतका गाउँमा करिव पाँच हेक्टरमा यसको परिक्षण खेती शुरु गरेको रेग्मीले वताए । ‘भर्खरै शुरु भएको हुनाले किसानहरुले अपेक्षा अनुसारको आम्दानी लिन सकेका छैनन्,’ कार्यालय प्रमुख रेग्मीले भने,‘रञ्तिजाको बारीमा राम्रो भएको छ, आगामी वर्षदेखि स्थानीय निकाय मार्फत सहयोग गर्न हामीले सुझाव दिएका छौँ कृषिले पनि यसमा किसानहरुलाई सहयोग गर्छ ।’

यसको माग भाटभटेनी लगायतका सुपरमार्केटहरुमा हुनेगरेको उनले जनाए । कोरिया, यूरोप लगायतका मुलुकहरुमा राम्रो मानिएको यो फल नेपाल घुम्न आउने बिदेशीहरुले बढी रुचाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्