अपहरणको शैलीमा सयौ युवा ठगिए



माेतीराम तिमल्सिना, काभ्रे । सर्वसाधारणले छिमेकी देश भारत लगायतका विभिन्न मुलुकहरुमा राम्रो काममा पठाउने भन्दै रकम असुली गरी गलत देश, स्थान र सम्झौता भन्दा फरक काममा पठाउने दलालीका नाईकेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई ठगी मुद्दा चलाईएको छ ।

खानीखोला गाउँपालिका वडा नम्वर ५ बस्ने वर्ष २७ का प्रेम बल लामा उनको कान्छि श्रीमती लिलामाया तामाङ मोक्तान, संजय रेश्मि मगर र उनको श्रीमती हेलेन रेश्मी मगर, बाराका उदयराज पाण्डे, रौतहटका निक्मा लामा भनिने राजु लामा र अमित तिमल्सिनाको समुहले नेपालबाट झण्डै पाँच सय युवाहरुलाई प्रति ब्यक्ति २ लाख ८ हजारका दरले ठगी गरेका छन् ।

शनिबार पत्रकारहरुको सम्पर्कमा आईपुगेका दर्जन युवाहरुले भईरहेको शिक्षकको जागिर छाडेर धेरै रकम प्राप्त हुने प्रलोभनमा ठगिएको गुनासो गरे । केहि बेरोजगार युवाहरु खेतबारी धितो राखेर उनिहरुको सम्पर्कमा पुगेका थिए भने केहि भएको जागिर छाडेर धेरै रकम प्राप्त हुने प्रलोभनमा फसेको बताए ।

उक्त समुहले गाउँमा सोझा सर्वसाधारणहरुलाई झुक्यादै रकम असुल गरी शुरुमा विरगञ्ज र पछि भारतमा पठाउने काम गर्दै आएका थिए । २०७४ साल साउन ३१ गते बेथाञ्चोक गाउँपालिका वडा नम्वर ६ का २२ बर्षिय ओमविक्रम लामालाई ठगी गरेपछि प्रेम विरुद्ध जाहेरी परेको थियो । जाहेरीका आधारमा पक्राउ परेका बललाई ठगी सम्वन्धी मुद्दामा कारवाही प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

भारतको विहार प्रदेश अन्तर्गत मोतिहारी जिल्लामा रहेको आई कोनिक टे«ड मार्ट प्रालीमा काम गर्ने गरी ओम विक्रमलाई प्रेमले पठाएका थिए । मासिक ४० हजार देखि १ लाख २० हजार रुपैयासम्म तलब हुन्छ भन्दै ओमविक्रमसँग २ लाख ८ हजार ८ सय रुपैया कम्पनीमा बुझाए पछि अपहरणको शैलीमा खान समेत नदिई आफन्तसँग सम्पर्क विच्छेद गराई अरु युवा ठगीका लागि दबाब दिएका थिए । सम्झौता अनुसार ओमविक्रमले रकम बुझाए पनि रोजगारी पाउन सकेनन् ।

न त उनको रकम नै फिर्ता दिए । केहि समय फरार रहेका प्रेमलाई ओमविक्र लगायतकै समुहले पक्राउ गरेर बुझाएपछि उल्टै उनको समहुले अपहरणको धम्की दियो । ओम विक्रमले आफु ठगिए पनि अन्य सर्वसाधारण ठगीमा नपरुन् भन्ने उदेश्यले उजुरी दिएको बताए । २०७४ साल फागुन ९ गते प्रेम विरुद्ध मुद्दा दर्ता गरिएको छ । ठगी मुद्दाको हद म्याद एक वर्ष हुने भएकाले अनुसन्धानमा सहज हुने छ । प्रेम सहित ठगी धन्दामा संलग्न गिरोहलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उक्त समुहको ठगिमा पर्नेहरुमा काभ्रेपलाञ्चोक जिल्ला बेथाञ्चोक गाउँपालिका ६ का ओम विक्रा लामा, सोहि वडाका विवेक वाईवा, इमान सिं थोकर, विकास थोकर, गोजकुमार थोकर, वेथान्चोक २ का विजय थोकर, खानीखोला ५ का विवेक वाईवा, बेथान्चोक २ कै विजय स्याङ्गतान, बेथान्चोक ६ का युवराज लामा, धर्मलाल लामा, सुरज लामा, सन्तलाल रुम्बा, खानिखोला ६ का सुवास थिङ्ग, पाँचखालका कृष्णकुमार राई, खानीखोला ६ का महेन्द्र पाख्रिन, बेथान्चोक २ का सञ्जय पूलामी, खानिखोला ६ का राजेन्द्र थोकर, ६ कै छेवाङ्ग स्याङ्गतान, बेथान्चोक ३ का विकास लामा, सिन्धुपाल्चोकका टेम्बा लामा, सिन्धुलीका उमेश पहाडी, दिपक काफ्ले, नारायण घिमीरे, ओखलढुंगाका सिताराम लुईटेल, सिन्धुलीकै कमल दाहाल, सिराहाका रोहित खतिवडा र तनहुँका सजेष्ट आले मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्