औधोगिक ग्राम स्थापनाको तयारी



हिक्मत नेपाली, दैलेख ।

जिल्लामा पहिलो पटक औधोगिक ग्राम स्थापनाको थालनी गरिएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १ बेलपाटाको चुप्रामा औद्योगिक ग्राम स्थापनाको तयारी थालिएको हो । जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र डुङ्गेश्वर गाउँपालिका बीच भएको समझदारी अनुसार डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १ चुप्राको गैरीमा औद्योगिक ग्राम स्थापना हुन लागेको हो ।

जिल्ला लघु उद्यमी समूह संघ, दैलेखका अध्यक्ष कविराज खत्री र डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लबीच औद्योगिक ग्राम स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।

पहिलो चरणमा उक्त क्षेत्रमा ढाका उद्यम प्रशिक्षण केन्द्र स्थापनाका लागि संरचना निर्माण गर्ने र आगामी वर्ष केन्द्रमा प्रस्तावना पेश गरी अन्य पाँच वटा उद्यम संचालनका लागि संरचना निर्माण गर्न बजेटको ब्यवस्थापन गर्ने उल्लेख गरिएको छ । लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय सुर्खेतको साझेदारी, जिल्ला लघु उद्यमी समूह संघ, दैलेखको पहल तथा वडा कार्यालयको अगुवाई तथा नेतृत्वमा कार्य शुरु गरिने भएको छ ।

कर्णाली प्रदेशको पहिलो औद्योगिक ग्राम दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजारमा स्थापना हुने भएकाले यसको महत्व उल्लेखनिय हुने र करिब १ सय जना उद्यमी स्वरोजगार हुने कुरामा आफुले थप पहल गर्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए ।

डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष लोक बहादुर डांगीले औद्योगिक ग्रामको संरचना गुणस्तरीय बनाउन तथा यहाँका लघु उद्यमीहरुलाई थप स्वरोजगार बनाउन आफु कम्मर कसेर लागि पर्ने र चुप्रालाई लघु औद्योगिक हव बनाउने प्रतिवद्धता गरेका छन् ।

जिल्ला लघु उद्यमी समूह संघ, दैलेखका अध्यक्ष कविराज खत्रीले ७ वर्षदेखीको प्रयास पहिलो पटक डुङ्गेश्वर गाउँपालिकाले पुरा गरेकोमा आफु खुसी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्