पीठाधिपति श्री श्री जयेन्द्र सरस्वतीको निधन



कांचिपुरम्, (एजेन्सी)
भारतको कांची कोमकोटि पीठका प्रमुख श्री श्री जयेन्द्र सरस्वती शंकराचार्यको बुधबार बिहान निधन भएको छ। तमिलनाडुको कांचीपुरम्मा ८३ वर्षीय शंकराचार्यले आफ्नो अन्तिम श्वास लिएका थिए।

जयेन्द्र सरस्वतीले रूढीवादी परम्परालाई तोड्दै मठको गतिविधिको विस्तार, समाज कल्याण, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा कार्य गरेका थिए। उनलाई सन् १९५४ मा चन्द्रशेखरेन्द्र सरस्वती स्वामीगलले आफ्ना उत्तराधिकारी घोषणा गरेका थिए। त्यसपछि उनी ६९औं मठ प्रमुख बनेका थिए।

पत्रकार एस गुरुमूर्तिले भने– ‘उनले मठलाई नयाँ दिशा दिए। पहिला मठ आध्यात्मिक कार्यमा मात्र सीमित हुने गथ्र्यो। उनले धार्मिक संस्थालाई सामाजिक कार्यसँग जोडे। यही कारणले उनी देशभरि लोकप्रिय बने।’
सन् १९८० मा तत्कालीन मठ प्रमुख चन्द्र शेखरेन्द्रसँगको मतभेदका कारण उनले कांचीपुरम् मठ छोडेर कर्नाटक गएका थिए। पछि पुनः उनी कांचीपुरम् फर्केका थिए।

सन् २००४ नोभेम्बर ११ मा कांची मठका प्रबन्धक शंकरारमणको हत्याको आरोपमा तमिलनाडु प्रहरीले जयेन्द्र सरस्वतीलाई पक्राउ गरेको थियो। शंकरारमणको हत्या सन् २००४ सेप्टेम्बर ३ मा मन्दिर परिसरमा भएको थियो। शकरारमणले स्वामी जयेन्द्रविरुद्ध अभियान चलाइरहेकाले उक्त हत्यामा उनको हात रहेको आशंकामा प्रहरीले पक्राउ गरेको थियो।

त्यसपछि कनिष्ठ स्वामी विजयेन्द्र सरस्वतीलाई अन्य २२ जनासँगै उक्त मामिलामा गिरफ्तार गरिएको थियो। मुद्दाको सुनुवाइ सन् २००९ मा शुरू भयो र अदालतमा १ सय ८९ साक्षीलाई उपस्थित गराइएको थियो। प्रमाणको अभावमा सबै आरोपीलाई सन् २०१३ नोभेम्बरमा पुदुचेरी अदालतले सफाइ दिएको थियो।

प्रतिक्रिया दिनुहोस्