घरमा होली खेलाउँदा खुसी लाग्छः करिश्मा मानन्धर



अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धर नेपालमा रहेसम्म हरेक फागुपूर्णिमाका दिन कलाकारलाई आफ्नो गोदावरीस्थित निवासमा बोलाएर कक्टेल, स्न्याक्स र खानपानको समेत व्यवस्था गरी भव्यसँग फागु मनाउँछिन्। हरेक वर्ष फागुपूर्णिमा आउने समयमा सबैजसो कलाकर्मीले पहिले नै यसपालिको फागु पनि करिश्माको घरमै मनाउने सोच बनाइसकेका हुन्छन्। एक किसिमले भन्ने हो भने कलाकारको फागुको रमझम करिश्मा निवासमै हुने गर्छ। यस वर्ष पनि उनी अघिल्ला वर्षजस्तै फागु मनाउने तयारीमा छिन् र कलाकर्मीलाई निम्तो पनि गरिसकेकी छिन्। यसरी हरेक वर्ष व्यक्तिगत पहलमै कलाकारलाई भेला गरी फागुपूर्णिमा मनाइरहेकी करिश्माले फागु नै नाम दिएर फिल्म पनि बनाइन्। तर, फिल्मले गतिलो व्यापार गर्न सकेन। यिनै विषयमा उनीसँग गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छः

रश्मी थापा

व्यक्तिगतरूपमै भए पनि फागुपूर्णिमाको कार्यक्रम गर्ने सोच कसरी आयो?

शुरू–शुरूमा होलीको दिन सुटिङबाट फुर्सद हुने दिन रमाइलो गर्नुपर्छ होली मनाउनुपर्छ भनेर लाजिम्पाटको घरमा नजिकका साथीभाइ बोलाएर खेल्ने गरिन्थ्यो। त्यो बेला बाहिर–बाहिर पानीको प्रयोग गरेर होली खेलिरहेका हुन्थे। हामी भने रङको मात्र प्रयोग गरी होली खेलेर एक–अर्कामा रमाइरहेका हुन्थ्यौं। धेरै वर्षसम्म भेट नभएका साथीभाइ, दिदीदाजुहरु जो इन्डस्ट्रिमा एक्टिभ हुनुहुन्न, उहाँहरुसँग पनि भेट हुने अवसरमा यस्तो कार्यक्रम गर्नु ठीकै हो जस्तो लाग्यो। गोदावरी घरमा सरेपछि चाहिँ धेरैजना साथीलाई समेटेर यसलाई म्यानेज गर्दै बृहत्रूपमा लग्यँैं। लाजिम्पाटभन्दा गोदावरीमा धेरै ठूलो ठाउँ पनि छ। त्यस कारण धेरै मानिस समेट्न पनि सजिलो भयो।

तपाईंले हरेक वर्ष यसरी कलाकारलाई भेला पारेर घरमै मनाइरहनुभएको कार्यक्रमलाई कलाकर्मीले कुनरूपमा लिएका छन्?

मैले साथीहरुलाई जहाँ भेट्दा पनि अब तपाईंको घरमा होलीको दिन भेट्नुपर्छ है भन्नुहुन्छ। यस्तो भनेर मेरो घरमा होली खेल्न आउँदा, खेल्दा र खेलाउँदा खुसी लाग्छ। फेरि यो मौसम सिजन चेन्ज हुने रमाइलो मौसम पनि हो। यस्तो मौसममा आफ्नै घरमा होलीको कार्यक्रम राखेर अग्रजदेखि सबै व्यक्तिसँग होली खेल्दै रमाउँदा म मात्र होइन, सम्पूर्ण कलाकर्मी नै रमाइरहेको पाएको छु। मलाई सबै जनाले यसका लागि थ्यान्क्यु भन्नुहुन्छ।

यसरी व्यक्तिगतरूपमा फागुपूर्णिमा मनाउँदा आर्थिक भार कत्तिको पर्छ?
जुन बेला लाजिम्पाटमा होली मनाइन्थ्यो, त्यो बेला त पर्दैनथ्यो। तर, पछि गोदावरीमा थालेपछि सहभागीको संख्या पनि बढ्यो। योसँगै आर्थिक भार बढे पनि केही वर्षदेखि स्पोन्सरहरु आएका छन्। यसले गर्दँ पनि सजिलो भएको छ। स्पोन्सर भएकाले धेरै आर्थिक भार पर्दैन।

फागुको कार्यक्रम गर्दा व्यावहारिक कठिनाइहरु के हुने गर्छ?

व्यावहारिक कठिनाइ त हुन्छन् नै। घरमा बोलाएपछि चिया पनि नखुवाउने कुरा भएन। हामी खाना पनि खुवाउँछौं। यसका लागि अलि पहिलेदेखि नै खटिनुपर्ने हुन्छ। कति काम म आफैं गर्छु, विनोदले गर्छ। तर, आफूले मात्र काम गरेर भ्याइँदैन। त्यसैले सहयोग गर्ने मान्छे नै चाहिन्छ। अरू साथीभाइलाई पनि जिम्मा दिने गरेको छु। यसरी सबै जना मिलेर काम गर्दा व्यावहारिक कठिनाइ भएको फिल नै हुँदो रहेनछ।

फागुकै नाममा फिल्म पनि बनाउनुभयो, तर व्यापार गर्न नसक्दा कस्तो लाग्यो?

फिल्मले एभरेजको व्यापार गर्यो। कहिलेकाहीं राम्रो फिल्म बनाउँदा पनि चलेको हुँदैन। त्यसमा पनि हामीले स्क्रिप्टमा अलि ध्यान दिन सकेनँैं। त्यस कारण पनि यसको व्यापार एभरेजमा रह्यो। विषेश गरी होली मनाउने भएर फागु नाम राखिएको थियो। तर, यो होली र फिल्म फागु बीच कुनै सम्बन्ध छैन।

प्रतिक्रिया दिनुहोस्