झिंगेको सडकमा मोटर सरर



मोतीराम तिमल्सिना, झिंगे, काभ्रे ।

घर आँगनमै मोटर आईपुग्ने सपना च्याम्ब्राङ्गबेशी झिंगेका सर्वसाधारणको २० वर्ष पछि पुरा भएको छ । तत्कालिन गाउँ विकास समिति, संसद विकास कोष र जिल्ला विकास समितिले समेत खर्च गरेका उक्त सडक चट्टानकै कारण पुरा हुन सकेको थिएन ।

नेपाली सेनाको प्राविधिक सहयोगमा बेथाञ्चोक गाउँपालिका १ च्याम्ब्राङ्गबेशी देखि झिंगेसम्म जाने सडकको ट्रयाक खोलिएको छ । विष्णु दल गण धुलिखेलको समन्वय र कालिप्रसाद गण काठमाडौको प्राविधिक सहयोगमा ४० दिनमा उक्त सडकको ट्रयाक खोलिएको छ । १ हजार २ सय किलोमिटर सडक निर्माणका लागि झण्डै ५० लाख खर्च भएको उपभोक्ता समितिका अध्यक्ष रुपेश पाख्रिनले बताए । नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरी उक्त सडकको ट्रयाक खुल्ला गरेको हो ।

उपभोक्ता समुहसँगको सहकार्यमा नेपाली सेनाले उक्त सडक खनेको जिल्लामै पहिलो हो । सेनाले आफ्नो जिम्मेवारीमा मात्रै सडक निर्माण कार्य गर्दै आएको छ । तर उक्त क्षेत्रमा उपभोक्ता समितिको समन्वयमा सेनाले गरेको सहयोगलाई मंगलबार सोहि क्षेत्रका नागरिकहरुले उच्च सम्मान गर्दै विष्णु दल गणका गणपति रामहरी केसी र कालिप्रसाद गणबाट खटिएको सेनाको टोलीलाई सम्मान गरेका छन् ।

त्यस्तै अहोरात्र सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्काभेटरका चालक उमेश थापालाई १५ हजारको माला, सहायक अपरेटरलाई १२ हजार र सहयोगीलाई ५ हजारको माला लगाएर सम्मान गरिएको थियो । च्याम्ब्राङ्गबेशी–कलाङ्गसिङ्ग–झिंगे–मिल्चे सडकका लागि गाउँपालिकाले विनियोजन गरेको रकमबाट ४२ लाख खर्च गरिएको वडा सदस्य मर्दन सिं तामाङले बताए ।

अझै अपुग रकम ब्यवस्थापनका लागि असहज भएको उनले बताए । मकवानपुरको फापरबारी हुँदै धरानको चत्तरासम्म जोड्न सकिने उक्त सडकको ट्रयाक खोल्न नसक्दा त्यस क्षेत्रमा भएको उत्पादन शहरी क्षेत्रसम्म ल्याउन मात्रै होईन सडकको उपभोग गर्ने अधिकारबाट समेत उपभोक्ताहरु बञ्चित थिए । आफ्नै जिल्लाको एउटै गाविस तथा वडामा पुग्न समेत ललितपुर जिल्ला हुँदै २२ किलोमिटर सडक पार गर्नु पर्ने दुरअवस्था भएको वडा सदस्य गोपालप्रसाद सापकोटाले बताए ।

सडक खुलेपछि स्थानीयहरु खुशीले गद्गद् भएका छन् । बाजागाजा सहित बसका चालक, सडक खन्न भरपुर सहयोग पु¥याउने चालक, सह चालक, जनप्रतिनिधि र दलका नेताहरुलाई स्थानीयहरुले स्वागत गरेका छन् । स्थानीय स्तरमा उत्पादन हुने कफि, दुधजन्य पदार्थहरु, कृषिका उत्पादनहरुको बजार सहजीकरण हुने भएको छ । मान्छेसम्म हिड्न नसक्ने भिरमा गाडी गुड्न थालेपछि स्थानीयहरु दंग परेका छन् । गाउँपालिकाले सबै वडामा सडक सञ्जाल पु¥याउन आवश्यक बजेट विनियोजन गरेको अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए ।

विटक मानिएको च्याम्ब्राङ्गबेशीमा सडक सञ्जाल जोडिएपछि अब त्यसको गुणस्तरमा ध्यान दिने अध्यक्ष तिमल्सिनाले बताए । सडकको प्रदेश नम्वर ३ का नेपाली कांग्रेसका संसदिय दलका नेता इन्द्र बानियाँले उद्घाटन गरेका थिए । कार्यक्रममा पुर्व राज्यमन्त्रीहरु उदयशमशेर राणा, कञ्चनचन्द्र बादे, प्रमुख जिल्ला अधिकारी शिव्रसाद सिंखडा, गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, नेपाली कांग्रेसका महासमिति सदस्य ऋषीराम घिमीरे लगायतले सडक पुग्दा भएको खुशीमा सहयोग रहने बताएका थिए ।

च्याब्राङ्गबेशी देखि झिंगेसम्मको सडक निर्माणका लागि झण्डै डेड करोड रुपैया खर्च भएको छ । उपभोक्ता समितिका अध्यक्ष रुपेश पाख्रिनले स्थानीयहरुको सहयोग र प्रशाशनबाट भएको समन्वयबाट सडक निर्माण कार्य सम्पन्न गर्न सकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्