होली खेलेर आर्थिक श्रोत जुटाउदैं विद्यार्थी



राम धामी, डडेल्धुरा ।

डडेल्धुराका बिभिन्न ग्रामीण क्षेत्रमा रहेका सामुदायीक विद्यालयहरुले विद्यालयको आन्तरिक श्रोत जुटाउन होली खेल्न थालेका छन् ।

होली खेल्ने दिन फागुु पुर्णिमा आउनुभन्दा एकसाता अघि देखिनै कतिपय सामुदायीक विद्यालयका शिक्षक बिद्याथीहरुले अभिभावकको घर घरमा पुगेर होली खेल्न थालेको र विद्यालयको आन्तरिक श्रोत प्रवद्र्धन भइरहेको विद्यार्थीहरु बताउँछन्। डडेल्धुराको सिमान्त गाँउ परशुराम नगरपालिका–५ परिगाँउस्थित भुवनेश्वरी नमुना माध्यामिक विद्यालयले होली खेल्न शुरु गरिसकेको विद्यालयका प्रधानाध्यापक डम्बरसिँह थ्वालले बताए । उनले विद्यालयले बर्षेनी होली खेलेर आन्तरिक श्रोत प्रबद्र्धन गरिरहेको जानकारी दिए ।

परशुराम नगरपालिकाका बिभिन्न बडामा रहेका सामुदायीक विद्यालयहरुले होली खेल्न शुरु गरिसकेको परशुराम नगरपालिका वार्ड नं. ५ का वडाध्यक्ष मिन चन्दले बताए । उनले चरम आर्थिक संकट झेलिरहेका सामुदायीक विद्यालयहरुले निजी श्रोतमा नियुक्त गरिएका शिक्षकहरुको तलब भुक्तानी गर्न होली खेलेर आन्तरिक श्रोत बढाउने प्रयत्न गरिरहेको बताए ।

सामुदायीक विद्यालयहरुले अभिभावकको घर घरमा पुगेर होली खेल्ने र विद्यालयलाई सक्दो सहयोग गर्न आग्रह गर्ने गरेको स्थानीय शिक्षक केशबराज भट्टले बताए । “विद्यार्थीहरुले पनि विद्यालयको होली खेल्न निकै रमाईलो मान्ने गरेका छन ।” उनले भने,“सामुदायीक विद्यालयहरुको अगुवाईमा गाँउ गाँउमा होली खेल्न अभिभावक पनि रमाउने गर्छन ।”

हाली खेल्दै अभिभावकको घरमा पुगेर उनीहरुलाई विद्यालयलाई आर्थिक सहयोग गर्न आग्रह गर्ने र उनीहरुबाट प्राप्त रकम विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकको तलब भत्तामा खर्च गर्ने गरिएको अधिकांस सामुदायीक विद्यालयहरुले जनाएका छन । भित्रिमधेस क्षेत्रका अधिकांस सामुदायीक विद्यालयहरुमा शिक्षक दरबन्दी न्युँन छ । अधिकांस सामुदायीक विद्यालयहरुले निजी श्रोतबाट तलब भत्ता उपलब्ध गराउनेगरि शिक्षक नियुक्त गरेका छन ।

विद्यालयको अन्य आर्थिक श्रोत नभएकाले होली खेल्ने र नाटक प्रर्दशन गरेर विद्यालयको आन्तरिक श्रोत प्रवद्र्धन गरिने सामुदायीक विद्यालयका प्रधानाध्यापकहरु बताउछन । “विद्यालयको आन्तरिक श्रोत नहुँदा निजी श्रोतका शिक्षकहरुको तलब भुक्तानी गर्न निकै समस्या उत्पन्न हुने गरेको छ ।” परशुराम नगरपालिका–७ सादनीस्थित शिवशंकर माध्यामिक विद्यालयका प्रधानाध्यापक केशबराज अवस्थीले भने,“आर्थिक संकट झेलिरहेका सामुदायीक विद्यालयहरुका लागि होली पर्व आन्तरिक श्रोत बढाउने महत्वपुर्ण अवशर बन्न थालेको छ ।”

परशुराम नगरपालिकामा मात्रै होइन, भित्रिमधेस क्षेत्रमा रहेको आलिताल गाँउपालिकामा रहेका अधिकांस सामुदायीक विद्यालयहरुले पनि निजी श्रोतबाट शिक्षक नियुक्त गरेका छन । विद्यार्थीको चाँप धेरै हुने भित्रिमधेस मा मात्रै नभई जिल्लाका अन्य ग्रामीण क्षेत्रमा रहेका सामुदायीक विद्यालयहरुले पनि होली पर्वलाई आन्तरिक श्रोत प्रवद्र्धनको महत्वपुर्ण अवशरका रुपमा लिने गरेका छन ।
ग्रामीण क्षेत्रमा रहेका अधिकांस सामुदायीक विद्यालयहरुले होली खेलेर आर्थिक श्रोत बढाउने गरेको जिल्ला शिक्षा अधिकारी बसन्तकुमार खत्री बताउछन । डडेल्धुरामा मात्रै नभई प्रदेश नं. ७ का अन्य जिल्लाका सामुदायीक विद्यालयहरुले पनि होली खेलेर आम्दानी गर्ने गरेका छन ।

छिमेकी जिल्ला बैतडी का डडेल्धुरासँग जोडिएका अधिकांस सामुदायीक विद्यालयहरु होली खेल्न डडेल्धुरा सदरमुकाम पुग्ने गरेका छन । यसबर्ष पनि डडेल्धुरा सदरमुकाममा छिमेकी बैतडीका झण्डै आधा दर्जन विद्यालयका शिक्षक विद्यार्थीहरु डडेल्धुरा सदरमुकाममा होली खेलिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्