१६ तुर्केली महिलालाई मृत्युदण्डको सजाय



बग्दाद, (एजेन्सी)
इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आईएस) समूहसँग आबद्ध रहेको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाइएको सो अदालतका प्रवक्ता अब्दुल सत्तार अलले बताएका छन्। इराकको सर्वोच्च न्याय परिषद्का प्रवक्ताका अनुसार ती महिलाले आईएस लडाकूसँग विवाह गरेका र तिनीहरूलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ।

न्यायाधीशका अनुसार ती महिलाहरूले आईएस लडाकूहरूसँग बिहे गरेको र आवश्यक सामग्री उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन्। ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र तिनीहरूलाई कालो पोसाकमा अघिल्लो दिन राजधानी बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएको थियो।
ती १६ महिलामध्ये चार जनाको स–साना बालबालिका पनि रहेका बताइएको छ। आईएस लडाकूहरूको आफन्त भएको आशंकामा यसअघि कम्तीमा ५ सय ६० जना महिला र ६ सय बालबालिका इराकमा पक्राउ परेका एएफपी समाचार समितिले जानकारी दिएको थियो।

यसैगरी सन् २०१७ मा मोसुल शहरका लागि भएको लडाइँमा आईएस पक्षबाट लडेको आरोपमा गत जनवरीमा एकजना जर्मन महिलालाई मृत्युदण्ड सुनाइएको थियो। यसै महिनाको शुरूमा पनि टर्कीकी एक महिलालाई मृत्युदण्ड दिइएको थियो भने अन्य १० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्