तालिवानी तालिम केन्द्रमा भीषण हमला



काबुल, (एजेन्सी)
अफगानिस्तानको सरकारी फौजले सोमबार इस्लामिक लडाकू समूह तालिवानको नियन्त्रणमा रहेको तिनीहरूको एउटा तालिमकेन्द्रमा आक्रमण गरी ध्वस्त पारिदिएको सरकारी सूत्रले जनाएको छ। अफगान फौजको नेतृत्वको एक समूहले बादख्शान प्रान्तको वार्डोज जिल्लामा तालिवान लक्षित सो कारबाही गरेको अफगानिस्तानको गृह मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ।

त्यस केन्द्रमा तालिवानले भण्डार गरेका असंख्य बम र हातहतियार सेनाको कारबाहीका क्रममा ध्वस्त भएको र त्यहाँ रहेका ठूलो संख्याका तालिवान लडाकू भागेका सो मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी यस कारबाहीको क्रममा तालिवानका १४ जना सशस्त्र लडाकू पनि मारिएको समाचारमा जनाइएको छ। अफगान सुरक्षा अधिकारीहरूलाई तालिवानविरुद्धको कारबाहीमा केही महिनायता अमेरिकी र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) आबद्ध संयुक्त फौजले स्थल र हवाई कारबाहीमा सहयोग गर्दै आएका छन्।

तालिवानका तर्फबाट सरकारी अधिकारी र सुरक्षाबललक्षित आक्रमण केही महिनायता बढ्न थालेपछि अमेरिकी र नेटो आबद्ध संयुक्त सेनाले पुनः तालिवानमाथि कारबाही शुरू गरेका छन्। यसैबीच अफगानिस्तानको पार्वान प्रान्तको प्रान्तीय राजधानी चरिकारबाट करिब ५० किलोमिटर टाढा रहेको सियागुद जिल्लामा गरिएको सुरक्षा कारबाहीमा केही सशस्त्र लडाकूको मृत्यु भएको पनि सरकारी अधिकारीहरूले बताएका छन्।

यस कारबाहीको विषयमा अहिलेसम्म तालिवान समूहले भने कुनै टिप्पणी गरेको छैन। त्यसैबीच अफगानी गृह मन्त्रालयले सो क्षेत्रमा ठूलो संख्यामा तालिवानको ज्यान गएको अनुमान गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्